कास्की / गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) द्वारा कास्की जिल्ला फुटबल सङ्घका अध्यक्षमाथि हातपात भएको छ।

पोखरा महानगरपालिका २९ भण्डारढिकमा मङ्गलबारदेखि सञ्चालन भएको मुख्यमन्त्री कप खेलको उद्घाटनअघि सांसद गुरुङद्वारा अखिल नेपाल फुटबल (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का र लात्ती प्रहार भएको हो।

मिलन गुरुङ मुख्यमन्त्री कपको कोषाध्यक्ष समेत हुन्। मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा पाँच मिनेटजति वादविवाद भएपछि प्रदेश सभा सदस्य गुरुङले लात्ती तथा मुक्का प्रहार गर्दै हातपात गरेको अध्यक्षले बताए।

दुई जनाबीच नियमअनुसार सहभागी टोलीलाई खेलको एक दिनअघि र एक दिनपछि मात्र आयोजकले व्यवस्था गर्ने र अरु बेला सहभागी टोलीले गर्नुपर्ने नियम अनुसार नै गरिए पनि प्रदेश सभा सदस्य गुरुङले आफूलाई हातपात गरेको अध्यक्ष गुरुङले बताए। सांसद जस्तो व्यक्तिले नबुझिकन हातपात गरेकोमा अध्यक्षको आपत्ति छ।

यसैबीच सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेको स्वीकार गर्नु भएको छ। ‘मुख्यमन्त्री कपका लागि गाउँबाट आएका खेलाडीलाई मैदान पनि उपलब्ध नगराएको र होटलको व्यवस्था पनि नमिलाएकोले सम्झाएको हुँ’, गुरुङको भनाइ छ।