काठमाण्डौ / चलचित्र विकास बोर्डको अध्यक्षको दौड रोचक हुने देखिएको छ। अहिले विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जन सिनेमाकर्मी दौडमा छन्। बोर्ड अध्यक्षको पदका लागि यसपटक नेपाली सिनेमाका दुई स्थापित अभिनेता पनि दौडमा छन्। अभिनेताद्धय राजेश हमाल र भूवन केसीले समेत विकास बोर्ड अध्यक्ष बन्नका लागि लबिङ सुरु गरेसँगै बोर्ड अध्यक्षको दौड रोचक हुने देखिएको हो।

बोर्ड अध्यक्षका लागि निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक केपी पाठक, कलाकार संघका पूर्व अध्यक्ष नवल खड्का, निर्देशक दयाराम दाहाल पनि आकांक्षी देखिएका छन्। विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले विज्ञापन निकालिसकेको छैन। तर, केहिदिनमा सुचना तथा सञ्चार मन्त्रालयले विज्ञापन जारी गर्दैछ। यसैले पनि विकास बोर्डले नयाँ अध्यक्ष पाउन अझै केही समय लाग्ने निश्चित छ।

बोर्ड अध्यक्षको दौडमा रहेका अभिनेता भूवन केसीले सिनेमाकर्मीको हक हितका लागी आफूले काम गर्न सक्ने अभिव्यक्ति दिएका छन्। उनले भने–‘सिनेमा क्षेत्रका कलाकार, प्राविधिक, निर्देशक, निर्माताको भावना राम्रोसँग बुझेको छु। सिनेमा क्षेत्रका सम्पुर्ण संघसंस्थालाई एकजुट बनाएर अगाडि बढाउन आवश्यक रहेकाले पनि आफुले बोर्ड अध्यक्षमा चासो देखाएको बताए।’

अभिनेता केसी अहिले पनि सिनेमा क्षेत्रमा उस्तै सक्रिय छन्। सिनेमा निर्माण, अभिनय र निर्देशनमा समेत उनी व्यस्त देखिन्छन्। अभिनेता केसीले अगाडी भने–‘विकास बोर्डको अध्यक्ष पदमा सिनेमा क्षेत्र र सिनेकर्मीको मर्म वुझेको मानिस आउन जरुरी छ। यसमा म नै हुनुपर्छ भन्ने पनि छैन्।’

बेला बखत विकास बोर्डलाई सूचना तथा संचारमन्त्रालय सम्हालेको पार्टीको कुनै एक कार्यकर्ता भर्ती गर्ने केन्द्रमा रुपमा लिइन्छ। अहिले बोर्डको अध्यक्ष पदका आकांक्षी सबै सिनेकर्मी नेकपा निकट मानिन्छन्।

महानायक राजेश हमालप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो देखाएको चर्चाले पछिल्लो समय सिनेमा बजार निकै तातिएको छ। सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने निर्देशक दयाराम दाहाललाई बोर्ड अध्यक्षको रुपमा ल्याउन लागेको चर्चा भैरहेको छ। उनकै निर्वाचन क्षेत्रका स्थानिय बासिन्दा भएका कारण पनि मन्त्री बास्कोटाले दाहाललाई बोर्ड अध्यक्ष बनाएर चुनावमा लगाएको गुन तिर्ने तयारी गरेको बुझिएको छ।