काठमाण्डौ / एक मात्र कलाकारद्वारा अभिनित नेपाली कथानक चलचित्र "अन्तिम पाना"को सम्पादन कार्य शुरु भएको छ। दिवाज फिल्मको ब्यानरमा निर्माण भएको सो चलचित्रको छायांकन पुरा भई सम्पादन कार्य सुरु भएको हो।

दिवाज राई किराँती निर्माता रहेको सो चलचित्रमा नियोमा राई कार्यकारी निर्माता रहेकि छन्। लेखक तथा अभिनेता जीवन थापा 'क्षितिज'को लेखन तथा निर्देशन रहेको सो चलचित्रमा एक मात्र कलाकार उमेश कार्कीले अभिनय गरेका छन्। चलचित्रको मुख्य सहायक निर्देशन सन्तोष थापाले गरेका छन् भने छायांकन र सम्पादन केदार राईले गरेका हुन्।

लेखक तथा निर्देशक थापाका अनुसार समाजमा विभिन्न समस्याका कारण एक्लिन बाध्य भएको पात्रको जीवन भोगाइ मुख्य बिषय रहेको चलचित्र 'अन्तिम पाना' पुर्वी तथा पहाडी जिल्ला भोजपुरको ट्याम्के मैयुङ्ग र पाङ्खाङ् गाउँ लगायत अरुण गाउपालिका याकु मैदानेमा छायांकन गरिएको हो। सो चलचित्र एक मात्रै कलाकारको अभिनय रहेको नेपालकै पहिलो चलचित्र भएको निर्देशन थापाको दावि छ।

चलचित्र निर्माता दिवाज राई किराँतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भए पश्चात् मात्र नेपालका हलहरुमा सो चलचित्र प्रदर्शन गरिने जानकारी दिए।