काठमाण्डौ / त्रिकोणात्मक सिरिजका लागि अमेरिकी क्रिकेट टिम काठमाण्डौ आइपुगेको छ। भारतको मुम्बईमा करिब १० दिनको बन्द प्रशिक्षण सकेर अमेरिकी टाेली आइतबार राति काठमाण्डौ ओर्लिएको हो।

मुम्बईमा प्रशिक्षण र तीन वटा अभ्यास खेल खेलेर अमेरिकी टिम प्रतियोगिताभन्दा तीन दिन अगाडि आइपुगेको हो। आइतबार राति आठ बजे काठमाण्डौ पुग्ने तालिका भए पनि विमान डिले हुँदा राति साढे १० बजे टिम नेपाल पुगेको हो।

आइसीसी विश्वकप क्रिकेट लिग दुईको तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले मुम्बईमा तीन अभ्यास खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको थियो। 

अमेरिकाले पहिलो खेलमा जित निकालेपछि त्यसपछिका लगातार दुई खेलमा हार भोगेको थियो। अमेरिकी टिमले काठमाण्डौमा भोली कीर्तिपुरमा अभ्यास गर्नेछ। यस्तै पर्सी (मंगलबार) मुलपानी मैदानमा नेपालसँग अभ्यास खेल खेल्नेछ। अमेरिकाले लिग दुईको पहिलो खेलमा ओमानसँग खेल्नेछ।

त्यसपछि उसले आफ्नो दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ। अमेरिकाले करिब १० वर्षपछि नेपाली भूमीको प्रतियोगिता खेल्दैछ। अन्तिम पटक सन् २०१० मा उसले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेको थियो। 

जसमा टिम उपविजेता बनेको थियो। त्यस बेला खेलेका टिमका कुनै पनि खेलाडी अहिले छैनन्।