काठमाण्डाै / एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीले प्रतिखेल खेले बापत ५ हजार रुपैयाँ पारिश्रमिक पाउने भएका छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) को मङ्गलबार बसेको कार्यसमितिको बैठकले याे निर्णय गरेको हो। सन् २०२० को जनवरीदेखि लागू हुने गरी याे पारिश्रमिक दिइने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो।

यसअघि नेपाली खेलाडीले खेले बापत पारिश्रमिक पाउने गरेका थिएनन्। यसैगरी राष्ट्रिय क्रिकेट टोलीको खेलाडीको वर्गीकरण गर्नका लागि समिति गठन गरिएको उहाँले बताउनुभयो। खेलाडी वर्गाीकरणका लागि क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह संयोजक तथा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितवीर पाण्डे सदस्य रहेकाे समिति गठन गरिएको छ। 

याे समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणीमा विभाजन गरी क्यानलाई सूची बुझाउने छ। समितिले महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरी क्यान समक्ष सूची पेस गर्नेछ।

यसरी श्रेणीबद्ध गरिएका खेलाडीले वर्गीकरण गरिएअनुसार पारिश्रमिक पाउनेछन्। यसअघि पुरुष खेलाडीले मात्र पारिश्रमिक पाउँदै आएका थिए। आउँदाे चैत तेस्रो साता पुरुष सिनियर एकदिवसीय प्रतियोगिता आयोजना गर्ने क्यानले निर्णय गरेको छ।