धरान/ सुनसरीको धरानमा शनिबार शुरु भएको बुढासुब्बा गोल्डकपबाट धरान फुटबल क्लब बाहिरिएको छ। अन्तिम तीन मिनेट सम्मालिन नसक्दा धरान फुटबल क्लब बुढासुब्बा गोल्डकपबाट बाहिरीएको हो।

गतवर्षको फाइनलमा टाइब्रेकरमा पराजित हुँदै उपाधि गुमाएको धरानले यसवर्ष पनि उद्घाटन खेलमा टाइब्रेकरबाटै पराजित भएर प्रतियोगिताबाट बाहिरिएको छ। धरान रंगशालामा शनिबार भएको खेलमा युनाइटेड कर्साङ फुटबल क्लब भारतले टाइब्रेकरमा ४–२ गोल अन्तरले धरानलाई पराजित गरेको हो।

आजको जितसँगै कर्साङ २२ औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तीनजना बिदेशी खेलाडीसहित मैदानमा उत्रिएको धरान फुटबल क्लबले पहिलो हाफको ३४औं मिनेटमा अग्रता लिएको थियो। धरानकालागी बिक्रम लिम्बूले दिएको लामो पासलाई सुनिल खड्काले पेनाल्टी एरियाबाट गोल गरेका थिए।

पहिलो हाफमा धरानले युनाइटेड कर्साङलाई दबाबमा राखेपनि दोस्रो हाफमा कर्साङले उत्कृष्ट कमब्याक गरेको थियो। दोस्रो हाफको ३७ औं मिनेटमा कर्साङका सिद्धान्त क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। कर्साङका करण राईले दिएको लामो पासलाई मुस्किलले नियन्त्रणमा लिएका सिदान्त क्षेत्रीले विपक्षी दुई डिफेन्स अलमलिदा गोल एरियाबाट सुन्दर गोल गरे। खेलको दोस्रो हाफको नवौं मिनेटमा सिदान्त क्षेत्रीले प्रहार गरेको बल पोष्ट नजिकबाट बाहिरीयो। त्यस्तै १६ औं मिनेटमा सिदान्तको प्रहार फेरी पोष्ट नजिकैबाट बाहिरियो।

खेलको पहिलो हाफमा धरानका विदेशी खेलाडी फोफोनाले मिलाइ दिएको पास गोल एरियामा अनमार्क रहेका सुनिल खड्काले गोल गर्न सकेनन्। त्यस्तै दोस्रो हाफमा धरानका फोफोनाको सशक्त प्रहार सोझै गोल किपरको हातमा पुगेको थियो।

टाइब्रेकरमा कर्साङका बेरिन प्रधान, प्रशान्त राई, सिदान्त क्षेत्री र प्रयास प्रधानले गोल गरेका थिए। त्यस्तै धरानका मनिष गुरुङ र हेमन्त थापाले गोल गरेका थिए भने विक्रम लिम्बूको प्रहार कर्साङका गोल किपर राजा बुर्मानले रोकिदिएका थिए। त्यस्तै मनोज राईको प्रहार बारमा लागेर बाहिरिएको थियो।

खेलको म्यान अफ द म्याच कर्साङका वाङ्देन तामाङ घोषित भए। उनलाई नगद रु १५ हजार पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै खेलमा उत्कृष्ट गोल गर्ने खेलाडी घोषित हुँदै धरानका सुनिल खड्काले ५ हजार नगद पुरस्कार प्राप्त गरे। भोली नेपाल पुलिस क्बल काठमाडौ र मेचि नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुने आयोजकले जनाएको छ।

-औजारबाट