केराबारी/ मोरङको उत्तरी क्षेत्र केराबारीमा प्रहरीले नै सुरक्षा दिएर ढुंगा गिट्टी चोराउने गरेको रहस्य खुलेको छ। केराबारी गाउँपालिका भएर बग्ने खदम, भलुवा, हचुवालगायतका खोलाहरुमा प्रहरी नै ड्युटि बसेर ढुंगा गिट्टी चोराउने गरेको पाइएको हो।

केराबारी गाउँपालिकाको खदम खोलाको शिरान(संरक्षित चुरे क्षेत्रमा) ब्यापक मात्रामा ढुंगा चोरी हुने गरेको बिषयमा स्थानीय प्रहरीलाई पटक पटक जानकारी गराउँदा पनि प्रहरीले वेवास्ता गर्ने गरेको स्थानीयले बताएका छन्। उनिहरुले आँफुहरुले पटक पटक इलाका प्रहरी कार्यालय केराबारी एवं इलाका प्रहरी कार्यालय बेलबारीलाई जानकारी गराउँदा पनि ढुंगा चोरीको बिषयमा कुनै सुनवाई नभएको बताएका छन्।

यसैबीच इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक गुणराज बुढाथोकीका ‘बिश्वासपात्र’ का रुपमा रहेका घुमुवा प्रहरी हवल्दार पदम बिष्ट ड्युटि बसेर ढुंगा गिट्टी चोराउन माहिर रहेको स्थानीयको भनाई छ। केराबारी ७ नकर्टेका एकजना ट्याक्टर ब्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने बिष्टजी हरेक हप्ता आउनुहुन्छ उहाँले ‘माथी’ पनि बुझाउनुपर्छ भन्दै हरेक हप्ता १५ हजार रुपैँया लानुहुन्छ। ति ट्याक्टर ब्यवसायीले आँफूले मात्र नभएर आँफूजस्ता धेरैजनाले बिष्टलाई रकम बुझाउने गरेको बताएका छन्।

ति ब्यवसायीले बिष्टले यति गरे केराबारी र बेलबारी प्रहरीको डर नहुने भन्दै यदि आकस्मिक रुपमा अन्य ठाउँबाट प्रहरी आईहाले जानकारी गराउने भन्दै आफ्नो मोवाईल नम्बर पनि लगेको बताएका छन्। ति ब्यवसायीले बिष्टको मोवाईल चेक गरे आँफुजस्ता धेरैजनाको मोवाईल नम्बर सेभ गरेको भेटिने बताएका छन्। बिष्टको छुट्टै सेपरेट नम्बरसमेत रहेको ति ब्यवसायीको भनाई छ।

त्यस्तै केहि महिना अगाडी खदम खोलाको जंगल क्षेत्रबाट क्षेत्रीय प्रहरी कार्यालयको बिशेष टोलीले तीनवटा जेसिभी नियन्त्रणमा लिनुअघि पनि हवल्दार बिष्टले ‘सेटिङ’ मिलाएर खदम खोलाबाट गिट्टी चोराउने गरेका थिए। हवल्दार बिष्टले यतिसम्म ‘सेटिङ’ मिलाएका थिए कि गिट्टी चोर्ने जेसिभीको चालक नै आफ्नै सालोलाई बनाएका थिए।

सो समयमा ‘सेटिङ’ को सुईको पाएका पूर्वीखबरका प्रकाशक त्रिलोचन पौडेलले ‘सेटिङ’को बिषयमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकीलाई जानकारी गराउँदा आँफुले पदम बिष्ट नाम गरेको कुनै घुमुवा परिचालन नगरेको भन्ने रुखो जवाफ दिँदै पूर्वी खबरकर्मीलाई तपाँई आफ्नो शुर गर्नोस म आफ्नो शुर गर्छु भनेका थिए। 

प्रहरी निरिक्षक बुढाथोकी मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक बिश्व अधिकारीको मोरङकै सवैभन्दा प्यारो प्रहरी निरिक्षक हुन। त्यसो त प्रहरी उपरिक्षक बिश्व अधिकारीको ‘निगाह’ बाट बुढाथोकी मोरङकै उत्कृष्ट प्रहरीको रुपमा सम्मान थापिसकेका छन्। खोलाको ‘सेटिङ’ को कुरा त भईहाल्यो प्रहरी निरिक्षक बुढाथोकीले आफ्ना ‘बिश्वासपात्र’  बिष्टलाई प्रयोग गरेर लक्ष्मिमार्ग, भाउन्नेलगायतका ठाउँबाट घरेलु मदिराको ‘लाईन’ मिलाएको खबर पनि प्राप्त भएको छ। केहि समय अगाडीसम्म हरेक दिनजसो घरेलु रक्सि नियन्त्रणमा लिईने गरेपनि अहिले ‘ठप्प’ छ। ‘ठप्प’ हुनुको प्रमुख कारण अरु नभएर ‘लाईन’ नै रहेको स्थानीय अगुवाको ठहर छ।

त्यस्तै केराबारी ९ स्थित हचुवा खोलाको संरक्षित क्षेत्रमा जारी ढुंगा उत्खनन्मा पनि बिष्टको तालमेलमा प्रहरी निरिक्षक बुढाथोकीले कुनै सुनुवाई नगरेको केराबारी ९ का स्थानीयले दावी गरेका छन्। उनिहरुले केराबारी ९ इलाका प्रहरी कार्यालय केराबारीको भएपनि केराबारी प्रहरीलाई आउन समय लाग्ने हुँदा पटक पटक बेलबारी प्रहरीलाई जानकारी गराएको भएपनि प्रहरीले वेवास्ता गरेको बताएका छन्।

स्थानीय एक ट्याक्टर ब्यवसायीले केराबारी प्रहरीले त एक प्लेट चाउमिन र एक बोतल बियरमा नै गिट्टी बालुवा चोराउने गरेको भन्दै केराबारी प्रहरीको काम त युनिफर्म लाएर डुल्ने मात्रै हो यहाँका सबै हटाएर पुरै टिम अर्को ल्यायो भने चाँहि खोला चोरीमा कमी आउने थियो कि ?