एजेन्सी / लोकप्रिय टिकटक स्टारहरुले केबल ६० सेकेन्डको पोस्टबाटै २ लाख डलरसम्म कमाइ गर्ने गरेको र आगामी वर्ष प्रमुख ब्रान्डहरुसँग १० लाख डलरसम्मको शुल्क लिन सक्ने प्राविधिक विज्ञहरुले बताएका हुन्। करोडौँ फलोअर भएका चर्चित टिकटक सेलीब्रेटीहरुले ठुल्ठुला कम्पनीका ब्रान्डको प्रचार गर्नुले उनीहरुलाई विशेष रुपमा फाइदा पुग्ने बताइएको छ।

अमेरिकी अनुसन्धान समुह ‘मर्निङ कन्सल्ट’ ले सञ्चालन गरेको रिसर्चका अनुसार ‘स्पन्सर’ गरिएका पोस्टका लागि टिकटकका चर्चित हस्तीहरुलाई प्रति फलोअर ०.००५ डलरसम्म तिर्नुपर्ने हुन्छ। यसरी ती पोस्टहरु १५ देखि ६० सेकेन्डसम्मका अत्यन्तै छोटा भिडियो भएपनि यसले टिकटक स्टारहरुलाई विश्वकै सबैभन्दा छिटो र धेरै कमाइ गर्ने सेलिब्रेटी बनाइदिने बताइएको छ। अहिले नै उनीहरुले प्रति पोस्ट २ लाख डलरसम्म कमाइ गरिरहेका छन्। यस्तोमा फलोअर बढ्दै जाँदा उनीहरुले विभिन्न ब्रान्डहरुसँग त्यो भन्दा धेरै शुल्क लिन सक्ने बताइएको छ।

यसमा अनुसन्धानकर्ताहरुले तिनका फ्यान १९ करोड ४० लाख सम्म पुग्न सक्ने अनुमान गरेका छन्। यसको अर्थ ३ करोड फलोअर भएकी पेनिसिल्भेनियाकी १७ वर्षीया चर्चित टिकटक स्टार लोरेन ग्रेले एउटा पोस्टका लागि २ लाख डलर भन्दा धेरै लिन सक्नेछिन्। त्यस्तै १९ वर्षीया अर्की लोकप्रिय टिकटक सेलिब्रेटी आशिका भाटियाका पनि १ करोड ४५ लाख फलोअर छन् जसले उचित कम्पनीसँग सहकार्य गरेमा प्रति पोस्टको लाखौँ डलर कमाइ गर्न सक्ने बताइएको छ। ‘मार्केटिङ एजेन्सी डिजिटस’ का स्ट्राटिजी पार्टनर जेम्स वाट्लेले द गार्जियनसँग भनेका छन्, “टिकटक वास्तवमै २०२० को डार्लिङ हो।”