काठमाण्डौ / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश छाड्ने कल्पना सम्म गर्न नसक्ने बताउनुभएको छ। आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै उहाँले कुनै हालतमा देश नछाड्ने दृढता व्यक्त गर्नुभएको हो।

रिपोर्टर्स नेपालले तपाईं देश छाडेर बेलायत बस्न लागेको खबर आएको छ नि भनेर सोध्दा पूर्व उपप्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो,’ ‘मेरा लागि सबैभन्दा प्रीय नै यो देश हो म कसरी छाड्न सक्छु ?’ आफूले कठिन परिस्थितिमा समेत देश नछाडेको औल्याउनुभयो। विरामी हुँदा पनि मर्नुपरे यही देशमा मर्छु भनेर बसेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मर्नुपरे पनि नेपालमै मरौंला।’

आफूलाई देशले निकै इज्जत र प्रतिष्ठा दिएको उहाँको भनाई थियो। नेपाल र नेपालीको मायाले आफू क्यान्सर मुक्त भई नयाँ जीवन पाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मलाई नेपाली दाजुभाई तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ। उहाँहरुको मायाले नयाँ जीवन पाएकी छु। म उहाँहरुको सेवामा समर्पित भइरहेकी छु।’ नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुन नसक्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘विश्वको सबैभन्दा सुन्दर देश नेपाल हो र मेरा लागि सबैभन्दा खुशी भएर बाँच्न सक्ने देश नेपाल हो।’ नेपाल सुन्दर भएपनि राजनीतिक नेतृत्वले सही निर्णय लिएर अगाडि बढ्न नसक्दा जनताले दु:ख पाइरहेको उहाँको भनाई थियो।

देश र जनताको सेवा गर्ने आफ्नो मन देखिएको चाहना रहेको बताउनुभयो। उमेर बढ्दै जाँदा पनि सक्रिय जीवनयापन गरिरहेको उहाँको भनाई थियो। सामाजिक काममा आफू बढी केन्द्रित भएको र देशले आवश्यकता ठानेमा राजनीतिक नेतृत्व लिन पनि तयार रहेको बताउनुभयो। उहाँलेभन्नुभयो, ‘नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व लिन अगाडि बढेकी छु।’