सुनसरीको दुहवीमा मनमोहन अन्तराष्ट्रिय डोरीतान प्रतियोगिता हुने चैत २३ र २४ गते खेल सञ्चालन हुने

  • पूर्वी खबर
  • प्रकाशित मिति: फाल्गुन २१, २०७६

दुहवी/ सुनसीको दुहवीमा दोश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पनसिप हुने भएको छ। सुनसरी जिल्ला डोरीतान संघ एवं मनमोहन स्पोर्टस् एकेडेमीको संयुक्त आयोजनामा डोरीतान प्रतियोगिता हुन लागेको हो।

दुहबीमा रहेको सरस्वती मा.वि.को खेल मैदानमा यही चैत्र २३ र २४ गते हुने डोरीतान प्रतियोगितामा भारतका चारवटा, नेपालका तीनवटा बिभागीय टिम, प्रदेश नम्बर ५को एउटा टिम, मोरङ जिल्लाको एउटा टिम र आयोजकको एउटा टिम गरि १०टिमले सहभागिता जनाउने मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाल डोरीतान संघका केन्द्रिय अध्यक्ष डा.सुभाष श्री पोख्रेलले बताउनुभयो।

प्रतियोगितालाई केन्द्रिय डोरी तान संघ एवं राष्ट्रिय खेलकुद परिषदको स्वीकृती प्राप्त छ। खेलको माध्यमबाट अनुशासित, मर्यादित, दक्ष समाजको निर्माण गर्न युवाहरुलाई खेलकूदमार्फत सकृय बनाउन तथा डोरीतान खेलकोसमेत प्रवद्र्धन गर्न सुनसरी जिल्ला डोरीतान संघले गत बर्षदेखि डोरीतान प्रतियोगिता गर्दै आएको जनाइएको छ।

प्रतियोगितामा भाग लिनका लागि स्वीकृति जनाइसकेको श्रीलंका र थाइल्याण्डका टिमले कोरोना भाइरस प्रकोपका कारण अन्तिम समयमा सोमवार सहभागिता नजनाउने सुनसरी जिल्ला डोरीतान संघका अध्यक्ष निश्चल शाक्यले जानकारी दिनुभयो।

सुनसरी जिल्ला डोरीतान संघको पहलमा नेपालको प्रतिनिधित्व गर्दै डोरीतानका खेलाडीले थाइल्याण्डमा सम्पन्न १४औं एसियाली डोरीतान प्रतियोगितामा भाग लिँदै एसियाली समूहमा ८औं र दक्षिण एसियाली समूहमा दोश्रो स्थान हात पारेको छ।

अन्तराष्ट्रिय डोरीतान महासंघको नियमानुसार लिग कम नकआउट, प्रत्येक लिग खेल २ सेट र नकआउट खेल ३ सेटको हुने र बिजेताले १ लाख नगद पुरस्कार, ट्रफी, मेडल एवं उपबिजेताले ५० हजार नगद पुरस्कार, ट्रफी, मेडल प्राप्त गर्ने आयोजकको भनाई छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved