एजेन्सी / स्पेनिस क्लब बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेस्सीसँग सन् २०२३ सम्मको सम्झौता थप्ने बताइएको छ।

स्पेनिस मिडिया ‘जीडीएस’का अनुसार ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले अर्जेन्टिनी स्टार मेस्सीसँग अझै तीन वर्ष सम्झौता थप्न लागेको हो।

खबरका अनुसार बार्सिलोनाले वार्षिक ५० मिलियन युरो थप्दै सम्झौता लब्याउनका लागि छलफल गरिरहेको छ।

स्पेनिस मिडिया ‘एल पेइज’का अनुसार मेस्सीले वार्षिक रूपमा तलब नबढाए यस सिजनको अन्त्यमा नै क्लब छोड्ने मनसाय व्यक्त गरेका थिए।

यसैकारण पनि बार्सिलोनाले मेस्सीसँगको सम्झौता सकिनुअगाडि नै सम्झौता नवीकरण गर्ने विषयमा छलफल थालिएको खबरमा उल्लेख गरिएको छ।

हाल मेस्सी र बार्सिलोनाको सम्झौता २०२१ सम्मको मात्र छ।

सम्झौता सकिनुअघि नै बार्सिलोनाले मेस्सीसँग नयाँ सम्झौताको विषयमा छलफल थालेको छ। ३२ वर्षीय मेस्सीले यस सिजन ला लिगामा २२ खेल खेल्दा १९ गोल र १२ असिस्ट गरेका छन्।