काठमाण्डाै / साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ।

घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग तीन–दुईले पराजित भएसँगै समग्रमा चार–दुईकाे हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो।

दुई पटक अग्रता लिए पनि लिभरपुलले खेल जित्न सकेन। ४३ औँ मिनेटमा जर्जिनियाे विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ९० मिनेट समग्रमा एक–एककाे बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो।

अतिरिक्त समयको चौथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई दुई–शून्यकाे अग्रता दिलाए। तर एट्लेटिकोका मार्कस लोरेन्टले ९७ औँ र १०५ औँ मिनेटमा गोल गर्दै खेल दुई–दुईकाे बराबरी गरेका थिए। खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई तीन–दुईकाे जित दिलाए।

पहिलो लेगमा एट्लेटिको एक–शून्यले विजयी भएकोले समग्रमा चार–दुईकाे जितसहित अन्तिम आठमा स्थान बनाउन सफल भएको हो।

यस्तै पेरिस सेण्ट जर्मेइन पनि च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ। कोरोना भाइरसका कारण रित्तो रङ्गशालामा बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्टलाई दुई–शून्यले हराउँदै समग्रमा तीन–दुईकाे जित निकाल्दै पीएसजी अन्तिम आठमा पुगेको हो। पीएसजीका लागि नेयमार र बेर्नाटले गोल गरे।