भक्तपुर / भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित हनुमान इँटाभट्टामा काम गर्ने १७ वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरीले सुरेश बादीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोही इँटाभट्टामा काम गर्ने दाङ तुल्सीपुर नगरपालिका ४ घर भएका ३० वर्षीय बादीलाई बलात्कार आरोपमा नियन्त्रणमा लिइएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले ती १७ वर्षीया युवतीलाई डर, धाक, धम्की दिइ सुरेशले गएको माघ ४ गते इँटाभट्टामा बलात्कार गरेको उजुरीको आधारमा नियन्त्रणमा लिइएको बताउनुभयो। पीडित युवतीले सुरेशविरुद्ध मंगलबार परिसरमा किटानी जाहेरी दिएकी थिइन्। किटानी जाहेरी दिएलगत्तै मंगलबार नै सुरेशलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पीडित युवतीले किटानी जाहेरीमा सुरेशले गरेको बलात्कारबाट आफू दुई महिनाको गर्भवतीसमेत भइसकेको उल्लेख गरेकी छन्। प्रहरीले नियन्त्रणमा लिएका सुरेशमाथि कानुनबमोजिम कारबाहीको लागि थप अनुसन्धान अघि बढाइएको जनाएको छ।