अहिले स्थानीय निकायहरुले एकद्वार प्रणाली अन्तरगत राहत बाँढ्ने निर्णय गरेको छ। यो स्वागत योग्य कुरा हो। तर यसो भन्दा भन्दै पनि केही प्रश्न केही असन्तुष्टीका कुरा अहिले हाम्रो टोल समाजमा र सामाजिक सञ्जालमा गाँईगुँई चल्न थालेको छ।

आज १२ दिन भईसक्यो लकडाउन शुरु भएको। दिनभरी ज्यालादारीमा काम गर्ने अनि बेलुका त्यही पैसाले दाल चामल किनेर ल्याएर गुजारा गर्दै आएका परिवारको अवस्था अहिले सम्म कस्तो भयो होला। यो हामी सबैले आँकलन गर्न सक्छौ। दिनभरी लकडाउन हुन्छ, साँझ परेपछी नजिकका किराना पसलहरु खुल्छन। किनमेल गर्नेहरुको लाम लाग्छ, तर टुलुटुलु हेरेर बसिरहेको हुन्छ एउटा परिवार। उसको सानो ५बर्षे छोराले सोध्छ बाबा हामी पसल नजाने ? के गरौ कसो गरौँ हुन्छ उसलाई। हतार हतार छोरालाई घरभित्र लग्दै भन्छ बाहिर जानहुन्न, ठूलो रोग आएको छ अरे, दोकानमा किनमेल पनि गर्नुहुन्न, किनेको सामान अनि फिर्ता लिएको पैसाबाट पनि रोग सर्छ अरे, यो रोग लाग्यो भने हामी सबै मर्छौँ ल ल अव यो पानी पिउ अनि छिट्टै सुत है, सरकारले लकडाउन गरेको छ,बाहिर कोहि जान हुन्न भन्दै घरको ढोका लाउँछ।

यो घटना त एउटा प्रतिनिधि पात्र मात्र हो। यसरी कयौं घरमा चुलो नबलेको धेरै दिन भयो। लकडाउन शुरु भएको तेस्रो दिन नै एकजना महिला दुधे बालकलाई च्यापेर आईन, मेरो त खानेकुरा सबै सकियो, बुढाको पनि काम छैन। ती महिला लाई भावना दिदी र मैले मिलेर केहिदिन पुग्ने चामल, दाल, आलु दियौँ। त्यसपछि घरमा म र मेरो श्रीमति संगीताको सल्लाह भयो, यी महिला त हाम्रो नजिक भएको हुनाले आईन, तर यिनि जस्तै अन्य परिवार अझ कति होलान हैन हामिले अव केही गर्नैपर्छ भनेर त्यही साँझमा ७५केजि चामल अनि २५ केजि दाल किनेर प्याक गर्न थाल्यौ भोलि देखिनै बाँढ्नु जानुपर्छ भनेर। भोलिपल्ट अर्थात चैत्र १५गते भावना दिदिमार्फत स्थानीय टोलका प्रतिनिधिसँग समन्वय गरेर बिपिन्नमा पनि अति बिपिन्न बर्गको पहिचान गरेर राहत बाँढ्न थाल्यौँ। यो क्रम निरन्तर चलिरहेको छ।

यो कार्य गर्न भनेर हामीलाई कसैले भनेन हामीले मानबीय नाताले परेको बेला सहयोग गरेको मात्र हौ। हामीले राहत बितरण गरेको फोटो फेसबुकमा पोष्ट गरेपछी धेरै शुभचिन्तकहरुले राम्रो भन्नुभयो धेरैले सहयोग गर्छु भन्नुभयो। आमालगायत अन्य शुभचिन्तकहरुले यस्तो बेला ज्यान जोखिममा हालेर किन हिडनु भनेर चिन्ता समेत व्यक्त गर्नुभयो। हामीले यो कार्य कसैको कर अनि रहरले गरेका हैनौ। हामीले त मात्र एउटा मानवले गर्ने मानबीयताको नाताले मात्र गरेका हौ। म लगायत यस्तै धेरै संघ संस्था अनि व्यक्तिहरुले यो मानबीय संकटको बेला आफुले सक्ने सहयोग गरिरहनुभएको छ।

यस्तो महान पुण्यको कामलाई ‘जथाभावी बाँढेको’ भन्ने संज्ञा पाउँदा चित्त दुख्नु स्वभाविक नै हो। हामी घर घर पुगेर सहयोग गर्दा देखिएको परिवारको हँसिलो अनुहारमा हामी हाम्रो सन्तुष्टि खोजीरहेका छौँ। हामीलाई के रहर थियो सबै आराम गरेर बसेको बेला यो तातो घाममा ज्यानको प्रवाह नगरी यसरी गल्ली गल्ली भौतारिन ? कुन रहरले आज केही संस्थाहरुले बिपि अस्पतालमा आएका बिरामीहरुको ३०० देखि ४०० जना कुरुवालाई दैनिक रुपमा निशुल्क खाना खुवाई रहनुभएको छ।

हामीलाई तपाँईको स्यावास पनि चाहिएन, ताली पनि चाहिएन तर स्थानीय सरकारले ‘जथाभावी बाँढेको’ भन्ने शब्द प्रयोग गरेर गाली त नगरिदिनुहोला। आशा गरौँ फुड बैंकमा जम्मा भएका सबै राहतको सामाग्री सबै पिडितको घर घरमा पुगोस तर कहिले सम्म पुग्ने ? लकडाउन भएको दोश्रो दिन देखि नै मानिसहरु भोक भोकै सुतिरहेको छन आज त १२ दिन भईसक्यो। अव कहिले सम्ममा पाउँछन त राहत ?

एक छाक भोको हुँदा हाम्रो अवस्था कस्तो हुन्छ ? यहि कुरालाई मनन गरेर छिटो भन्दा, छिटो राहत सामाग्री पिडित परिवारकोमा पुर्‍याँउ। अनि अर्को सार्है चित्त दुखेको शब्द ‘जफत गरिने छ’। हजुर सरकार यो त हामीले हाम्रै रकम खर्च गरेर, हामी आफैले संकलन गरेको रकम जम्मा गरेर खरिद गरेर निशुल्क बाँढ्न हिँडेको चामल दाल हो न कि हामीले सस्तोमा खरिद गरेर टोल टोलको गल्लीमा महँगोमा कालाबजारी गर्दै बेच्न हिँडेका व्यापारी हौ। जफत गरेर तपाईले फुड बैंकमा राखेर बाँढ्छु भन्नुहोला तर हामी जुन बर्गको घर दैलोमा पुगेर त्यो राहत बाँढेको छौ त्यो बर्गमा तपाईहरु पुग्नुहुन्छ भन्ने कुरामा हामीलाई बिश्वास लाग्दैन। हामीले कालोबजारी गरेको पनि हैनौ, ड्रग्स जस्ता कानुनले निषेध गरेको सामाग्री बेच्न पनि हिडेका हैनौ, राहत सामाग्री जफत गर्ने अधिकार तपाईलाई कुनैपनि कानुनले दिँदैन बुझ्नुभयो ?

२०७२ सालको भुकम्पपछि आएको सहयोग र बाँढिएको राहत सामाग्रीको दुर्दशा देखेर अनि अहिले स्वास्थ्य सामाग्री खरिद प्रकरणको विबाद देखेर नै जनताले सरकारप्रति बिश्वास गर्न छाडीसके। अव यो गुमेको बिश्वास स्थानीय सरकारले बचाउने कोसिस त गर्नुस। अहिले सहि समय छ तसर्थ विवेक प्रयोग गरेर बुद्धिमताका साथ ढिलो नगरी राहतको कार्यलाई निष्पक्ष ढंगले चाडै वितरण गर्न अनुरोध गर्दछु।

अहिले धेरैजना मेरो घरमा नै आएर राहत लिएर जानुहुन्छ, अव के उनिहरुसँग त्यो सामान जफत गर्ने ? तसर्थ ‘जथाभावी बाँढेको’ अनि ‘जफत गछौँ’ भन्ने शब्द प्रयोग गरेर यो संकटको बेला सहयोग गरिरहेकाहरुलाई गाली बेईजत्ति नगर्नुहोस। एकपल्ट बजारको अनुगमन राम्ररी गर्नुहोस तपाँईहरुले जफत गर्ने सामाग्री धेरै भेट्न सक्नुहुन्छ।

मेरो तपाईहरुलाई केहि सुझाव
१) राहत वितरण कार्यमा हालसम्म सकृय रहेका संस्था सबैलाई स्थानीय सरकारले तुरुन्तै बोलाएर सवैभन्दा पहिले धन्यवाद दिनुस अनि उहाँहरुले अहिले सम्म कसरी, कहाँ राहत बाँढ्नुभयो र अवको योजना के छ र सहकार्य गरेर जाँदा कसरी जाने भनेर राय लिनुस। अहिले सकृय रहेका संस्था स्वतस्फुर्त हिँडेका बिद्यार्थी देखि शिक्षक अनि बुद्विजीविहरु भएको कारणले गर्दा तपाईंहरुलाई प्रभावकारी ढंगले राहत वितरणको सहि सुझाव आउने छ। तपाईहरुले निर्माण गरेको समितिले भन्दा। तपाँईहरुले एक्टिभ भोलेन्टियर पनि पाउनु हुनेछ। निष्कृय भएर घरमा बसेको या मातहतको कर्मचारी जुन तपाईहरुले भोलेन्टियरको रुपमा चयन गर्नुहुन्छ, उहाँहरु भन्दा यसरी स्वस्तफूर्त रुपमा काम गरेको संस्थाको भोलेन्टियरले राम्रो काम गर्नेछन।

२) फुड बैंकमा प्रदान गर्ने खाद्यान्नको पनि गुणस्तरको सिमा निर्धारण गर्नुहोस, दाताले सस्तो दरमा पाएर अनि धेरै देखाउन, धेरै किन्छन अनि व्यापारीले यहि बेला हो स्टकमा रहेको माल सल्टाउने भनेर बिग्रन लागेको माल सस्तोमा दिन्छन। यस्तो हुँदा राहत पाउनेले भात पकाई सकेपछी गन्हाएर खान नसकी सराप्दै फालेको हेर्न तथा सुन्न नपरोस।

३) कुनै संस्थाले फुड बैंकमा दुईहजारकेजि हस्तान्तरण गर्‍यो भने त्यही संस्थाको सदस्यहरुलाई सकृय गराएर कति केजिको तिरण गर्ने त्यही अनुसारको तुरुन्तै प्याकिङ गराउने या यति यतिको प्याकिङ गरेर ल्याउनु भनेर निर्देशन दिनुस यसो गर्दा राहत प्राप्त गरेको दिनै बितरण गर्न सहज हुन्छ।

४) राहत वितरणको लागि नामावली संकलन गर्दा नागरिकता भएको, यस्तो उस्तो भनेर सिमा निर्धारण नगरियोस उसको सिमा भनेको नै उ अहिले सम्बन्धित नगरमा बसोवास गरेको पिडित हुनुपर्‍यो चाहे त्यो नेपाली होस या गैर नेपाली। केही स्थानमा नागरिकता नहुनेको नाम नै नटिपेको पाईयो।

५) राहत बाँढ्दा एकै साथ धेरै स्थानमा एकैपटक बाँढ्ने सम्यन्त्र बनाईयोस। आज यो वडा भोलि त्यो नगरियोस। यसो गर्दा पिडितले छिटो भन्दा छिटो राहत पाउछन्।

६) सके सम्म छिटोभन्दा छिटो यो कार्यको प्रारम्भ होस।

अन्त्यमा, नगर प्रमुख, उप–प्रमुख ज्यू, तपाईंहरु यो शहरको मातापिता हुनुहुन्छ तसर्थ तपाईको कुनैपनि छोराछोरी भोकभोकै न सुतुन सबैले एक सामानले राहत पाउन। वास्तविक पिडितलेनै राहत पाउन, सुनको सिक्री सलले छेकेर राहत लिन आएका कसैले नपाउनु भन्दै तपाईंहरुको एक शुभ चिन्तकको नाताले केही सुझाव दिएको हुँ।

आशा छ तपाईहरुबाट कसैलाई अन्याय हुँदैन।

(प्रधान धरानस्थित ह्वाईट हाउस ईन्टरनेशनल इन्टिच्युट एण्ड होटल म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत(CEO) हुनुहुन्छ -सम्पादक)