सुनसरी/ कोरोना भाईरस(कोभिड १९) का कारण आज बिश्व स्तब्ध छ। अमेरिका, चीन, भारत लगायतका मुलुकहरु यो बिषम परिस्थितीसँग लड्नका लागि हरतरहले कोशिस गरिरहेका छन्। दैनिक संक्रमितको र मृतकको संख्या बढिरहेको छ। धेरैजसो मुलुकमा लकडाउन अवस्था छ। स्कूल, कलेज,उद्योग, कलकारखाना, सपिङ मल, बजार, यातायात बन्द छ। मानिसको आवतजावत बन्द छ। बजार गल्ली सुनसान छ। मानिसमा डर त्रास व्याप्त छ। घरका मूलढोकामा ताला लगाएको छ। बाटामा कोही हिड्छन् की भनेर झ्यालबाट चिहाएर हेर्नुपर्ने स्थिती छ। घरका ढोकाका ह्यान्डल, कुर्सी, टेबल, झ्यालका पल्ला, ढोका, आफूले प्रयोग गरेका गाडी, मोटरसाइकलले आँफैलाई कोरोना सार्छ भनेर त्रसित पारेको छ। घरमा आफ्नै बाबु, आमा, दाजु, भाई, दिदी सासु, ससुराको आगमन पनि त्रासलाग्दो भएको छ। हाल घरमा जो जती छौं, अरुको उपस्थितिको कामना गर्न पनि कठिन छ।

के बालक,के युवा, के तन्नेरी, के बृद्धबृद्वा सबैमा बाँच्न पाइन्छ की पाइँदैन भन्ने मात्र छ। यो लकडाउन भन्दा पहिले जोहो गरिएको दाल, चामल, नुन, तेल,सब्जी रित्तिँदै छ। यो अवस्था कहिलेसम्म भन्ने नी टुङ्गो छैन। ग्याँस सकियो, चिया रंग सकियो, चिनी सकियो, ग्रीन टी सकियो। साना बालबच्चाको लागि ल्याएको बिस्कुट सकियो, चिउरा सकियो, भुजा सकियो, सुजी सकियो। खासगरी यस्तो अवस्थामा युवा, तन्नेरी, बृद्वबृद्धासमेतले परिस्थितिको गाम्भिर्यता लागि महसुस गर्नसक्नु स्वाभाविक भएता पनि बालबच्चाका लागि भने बुझाउन निकै कठिन भएको महसुस हुन्छ। एकातिर कोरोनाको कारणले उनीहरुमा पारेको मनोबैज्ञानिक त्रास अर्कोतिर आवश्यकीय बस्तुको अभावले उनीहरुमा जीवनप्रति एउटा नकारात्मकता उत्पन्न गर्नसक्छ। त्यस्तो अवस्थामा अभिभावकको जिम्मेवारीसमेत बढ्न गएको छ। यस्तो बिषम परिस्थितिमा आफ्ना बालबच्चाको सही ढंगले बाल मनोबिज्ञानमा असर नपर्ने गरी कसरी रेखदेख गर्न सकिन्छ त्यसको बारेमा चर्चा गर्ने प्रयत्न गरेको छु।

शिक्षाको बिकासको कुरा गर्दा पित्रीकुलबाट यसको सुरुआत भएको मानिन्छ। प्रारम्भमा आफ्नै घरमा बाबुले छोरालाई पेशा र व्यवसायको ज्ञान दिने र आमाले छोरीलाई घरायसी कार्यको बारेमा सिकाउँदै जाँदा शिक्षा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाँदा यसको बिकासक्रम पनि अगाडि बढ्दै गएको देखिन्छ। आधुनिककालमा समेत बालबालिकाको लागि घर नै पहिलो बिद्यालय र बाबुआमा पहिलो शिक्षक हुन। बालबालिकाले पहिलो बोली, आचरण, अनुशासन संस्कार, नैतिकता, सामाजिक रहनसहन जस्ता पक्षहरु घरमै सिक्ने गर्दछन्। यो अवस्थामा अभिभावकहरु समेत आफ्नो पेशा व्यवसायबाट फुर्सदिलो भएको हुनाले बालबच्चाको लागि प्रेरणाका श्रोत हुनसक्छन्। खासगरी त्रसित मनोबिज्ञान भएका बालबच्चालाई कसरी मनोबैज्ञानिक उपचार गर्ने र उनीहरुसँग कसरी समय बिताउने भन्ने बारेमा तलका बुँदाहरुमा व्याख्या गर्ने प्रयत्न गरिएको छ।

१) समय तालिका बनाउनहोस,
आफ्ना बालबच्चालाई तपाईंको महत्वपूर्ण समय दिनका लागि निश्चित समय तालिका तयार गर्नुहोस। हरेक दिन एउटै समयमा सो निश्चित कार्य गर्नुहोस जसले गर्दा कुन समयमा कुन काम गर्नुपर्छ भन्ने बारेमा तपाईंको नानीबाबुलाई जानकारी होस। याद राख्नुहोस एकपटकमा एउटै मात्र काम होस। बालबच्चासँग बसेर गर्ने यस्तो काम बढीमा ३० देखि ४५मिनेटको होस। यो समयमा शारिरिक दुरीको बारेमा कुरा गरेपनि हुन्छ। बालबच्चासँग बसेर गरिने यस्ता कामहरु उनिहरुको उमेर अनुसार फरक फरक हुनसक्छ। जस्तै पूर्व बाल्यावस्थाका नानिबाबुहरुसँग गीत गाउने, कथा भन्ने, नाच्ने, बक्स मिलाउने, अनुहारको हाउभाउ नक्कल गर्ने हुन सक्छ भने उत्तर बाल्यावस्थामा रहेका बालबालिकासँग स्कूलको कार्यमा सहयोग गर्ने, गृहकार्यमा सहयोग गर्ने पाठ पढाउने, संगीत सिकाउने, सँगै मिलेर सामान्य घरायसी काम गर्ने, चिया बनाउन सिकाउने, ब्यक्तिगत सरसफाइ सिकाउने आदि। त्यसैगरी युवावस्थाकाहरुसँग समसामयिक कुरा गर्ने, योगा, ध्यान गर्ने। यो बेलामा आफ्नो मोबाइल फोन र टिभि पूर्णरुपमा बन्द हुनु जरुरी छ।

२) सहि तरिकाले हात धुने तरिका सिकाउनुहोस,
हातखुट्टा धुने, मुख धुने, दाँत माझ्ने, नुहाउने बारेमा नानीबाबुहरुलाई सामान्यतया आमाबाबाले सानैदेखि अभ्यस्त गराएका हुन्छन्। तथापि सहि तरिकाको प्रयोग भने गरिएको पाइँदैन। त्यसैले नानीबाबुहरुलाई सातचरणको प्रयोग गरी कम्तीमा २० सेकेन्डसम्म हात कसरी धुने बारेमा सिकाउनु पर्छ।

३) आफ्नो काम आफैं गर्न सिकाउनुहोस,
बिद्यालयसमेत बिदा भएको समयमा नानीबाबुहरुसँग प्रशस्त समय हुन्छ। उनीहरुलाई समय काट्न समस्या भईरहेको हुन्छ। यस्तो समयको उपयोग सुन्दर तरिकाबाट गर्न सकिन्छ। उनीहरुको उमेर र शारिरीक स्वास्थ्यको आधारमा उनीहरूका आफ्ना व्यक्तिगत कामहरु सिकाउने यो एउटा सुनौलो अवसर पनि हो। आफ्ना लुगा धुने, आईरन गर्ने, बेड मिलाउने, किताब मिलाउने, कोठा सफा गर्ने, कोठा सजाउने, जुत्ता पालिस गर्ने, बटन लगाउने, भान्सामा थाल बटुका सफा गर्ने, मिलाएर ¥याकमा राख्ने, कोठा सफा गर्ने, फूलबारीमा पानी हाल्ने जस्ता काममा आफूसँगै लगाउन सकिन्छ। यस्ता कामले एकातिर उनीहरुको समय सजिलै कट्छ भने अर्कोतिर अनावश्यक नकारात्मक सोचाईबाट मुक्त पनि हुन्छन्। सबैभन्दा ठूलो फाईदा त काम गर्ने बानीको बिकास हुन्छ।

४) आदर्श अभिभावकको भूमिका निर्वाह गर्ने,
बालबालिका तपाईं जे भन्नुहुन्छ, त्यो मान्दैनन्, गर्दैनन् तर तपाईं जे गर्नु हुन्छ, त्यो गर्छन्। त्यसैले पहिला आफू आदर्श बन्नुहोस। आफू सामाजिक दुरी (सोसियल डिस्टेन्ट) कायम गर्नुहोस। आफू सभ्य बन्नुहोस। आफू रोलमोडल बन्नुहोस। नानीबाबुहरुलाई पढ्न लगाएर आफू टिभि हेर्ने, मोबाइल चलाउने नगर्नुहोस। नानबिाबुहरुको पढ्ने बेलामा आफूपनि पुस्तक पत्रिका लिएर बस्नुहोस। नानीबाबुहरुको अगाडि घरझगडा नगर्नुहोस। अश्लिल शब्द नबोल्नुहोस। सकिन्छ भने कसैको बिरोध नगर्नुहोस।

५) सँगै बसेर खानाखाजा खानुहोस,
तपाईंका परिवारका सदस्यहरु श्रीमती, छोराछोरी, बाबुआमा लामो समयदेखि तपाईंको ब्यस्तताको कारण सँगै बसेर खाना खान पाएका छैनन्। यो समयलाई सदुपयोग गर्नुहोस। सँगै बसेर खाँदा रुखासुखा पनि रसिलो, मिठो र पोषिलो हुन्छ। पारिवारिक वातावरण राम्रो बन्छ। एकअर्कामा माया बढ्छ। नानीबाबुहरु सुरक्षित भएको महसुस गर्छन्।

६) अवलोकन गर्नुहोस,
तपाईंको व्यस्तताको कारणले तपाईंका नानीबाबुहरुको बानी ब्यहोरा तपाईंलाई जानकारी नहुन सक्छ। यो बेला तपाईं उनीहरुसँगै रहने भएको हुनाले उनीहरूका हरेक कृmयाकलापहरु नजिकबाट हेर्न सक्नुहुन्छ। उनिहरुका नकारात्मक र सकारात्मक सम्बेगहरुको बिकासक्रम कस्तो छ। बोली, भाषाशैली, खानपान, खाने समय, खाने तरिका, खाने कुराहरु, भाईबहिनीसँगको सम्बन्ध, दाजुदिदीसँगको सम्बन्ध आदिको बारेमा नजिकबाट अवलोकन गर्न सक्नुहुन्छ।

७) सँगै बसेर टिभि हेर्नुहोस रेडियो सुन्नुहोस,
समय मिलाएर टिभि हेर्ने, रेडियो सुन्ने पनि सँगै गर्नुहोस्। यसबाट नानीबाबुहरुलाई तपाईंप्रति सदभाव बढ्नुको साथै उनीहरुमा सुरक्षाको भावना बढ्छ।

८) पारिवारिक इतिहाँस बताउनुहोस,
तपाईंका बालबालिकालाई तपाईंको परिवारको बिगतको बारेमा बताउनुहोस। उनिहरुका मामामाइजू, काकाकाकी, हजुरबुबा हजुरआमा, मामली पट्टिका दाजुभाई, दिदीबहिनी, घरतिरका आफन्त, नातागोताको बारेमा बताउनुहोस। आफ्नो गोत्र बताउनुहोस। सकेसम्म ५पुस्ता, नभए ३पुस्ता बताउनुहोस।

९) परिवारको परम्परा सिकाउनुहोस,
तपाईंको परिवारको संस्कार, पूजापाठ, ब्रत, आफ्नो धर्मकर्म, इस्टदेवता, उपवासको बारेमा जानकारी गराउनुहोस। परिवारमा आफूलाई समस्या परेको बेला सहयोग गर्ने नजिकको आफन्त र तपाईंको नजिकको मित्रको बारेमा बताउनुहोस।

१०) तागत (इम्युनिटी पावर) बढाउने खाना खान सिकाउनुहोस्।

११) कोरोना भाईरस (कोबिड १९) को चर्चा गर्नुहोस,
नानिबाबुहरुको उमेर अनुसार कोरोना भाईरस र यसले पारेको असरको बारेमा खुलेर कुरा गर्नुहोस। उनिहरुमा रहेको यसको डर हटाउनुहोस। कोरोना लाग्दैमा मरिहालिने होइन। कैयौ कोरोनापिडित निको भएर घर गएका छन् भनेर जानकारी दिनुहोस। कोरोना सम्बन्धित सकारात्मक सामग्रीहरु अवलोकन गराउनुहोस।

१२) तनाव नियन्त्रण गर्न सिकाउनुहोस,
तनाव नियन्त्रणका बिभिन्न उपायहरु छन्। यहाँ म एउटा सजिलो तरिका उल्लेख गर्न गईरहेको छु।
) सबैभन्दा पहिला एउटा नरम कार्पेट वा बेडकवरलाई समतल जमिन वा खटियामा मिलाएर ओछ्याउने,
२) सो कार्पेट माथि जिउलाई लचिलो बनाई उत्तानो परेर सुत्ने,
३) आँखा चिम्लिने,
४) लामोलामो श्वास लिँदै छाड्दै गर्ने,
५) श्वास लिँदा लागेको समय र छोडिएको समय बराबरी होस,सो को ख्याल गर्ने,
६) हरेक पटक श्वास लिँदा सकारात्मक उर्जा लिएको र श्वास फाल्दा नकारात्मक उर्जा फालेको महसुस गर्ने,
७) शान्त र हलुका भएको महसूस गर्ने,
८) श्वास फाल्दा सबै नकारात्मक भावना फालिएको महसुस गर्ने,
९) यसरी यो कृयालाई १५देखि २० मिनेट गर्ने, बिस्तारै आँखा खोल्ने, केही समय उत्तानै सुत्ने, बिस्तारै कोल्टे फेर्दै उठ्ने,
१०) यो प्रकृया आफू अनि परिवारका सदस्यलाई गराउने,

अन्त्यमा यो संकटको घडीमा आफू पनि सुरक्षित रहनुहोस र समाजलाई पनि सुरक्षित राख्न सहयोग गर्नुहोस। सामाजिक दुरी कायम राख्नुहोस।

(लेखक डा.बेनुप्रसाद सिटौला Educationalist and psychotherapist तथा इटहरीस्थित डिभिएम स्कुलका प्रिन्सिपल हुनुहुन्छ-सम्पादक)