सुनसरी/ इटहरीमा यसै शैक्षिक शत्रबाट सञ्चालन हुने गरी अर्को प्राविधिक कलेजको स्थापना भएको छ। नरबहादुर कर्माचार्य मेमोरियल फाउण्डेसन सुनसरीले कलेज स्थापना गरी सञ्चालनमा ल्याएको हो।

कलेजले यसै शैक्षिक सत्रको लागि तीनबर्षे डिप्लोमा कोर्षमा कृषि बालि बिज्ञान, सिभिल इन्जिनियरिङ र होटल म्यानेजमेन्टमा भर्ना खोलिसकेको कलेजका प्रिन्सिपल अर्जुन उप्रेतीले जानकारी दिनुभयो।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त कलेजमा तुलनात्मक रुपमा गुणस्तरीय तथा सुलभ शुल्कमा पढाई हुने प्रिन्सिपल उप्रेतीले जानकारी दिनुभयो।

प्रिन्सिपल उप्रेतीले कलेजमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु हुने जनाउँदै त्यस प्रयोजनका लागि स्तरीय कक्षा कोठा, ल्याब, रेष्टुरेन्ट, पुस्तकालय, वर्कसप रुम आदि तयार गरिएको बताउनुभयो। सैद्धान्तिक ज्ञानमा पोख्त र सीपयुक्त जनशक्ति उत्पादन गर्नु कलेजको उदेश्य रहेको प्रिन्सिपल उप्रेतीले बताउनुभयो।

सर्वसाधारणमा प्राविधिक शिक्षाको पहुँच पुर्‍याउने लक्ष्य रहेकाले हामीले शुल्कको नाफाभन्दा बिद्यार्थीलाई गुणस्तरीय सीपमुलक शिक्षा दिनुलाई पहिलो प्राथमिकतामा राखेका छौँ। छात्रवृतिका सुविधाहरुपनि रहेको प्रिन्सिपल उप्रेतीले बताउनुभयो। एसइइ उत्तिर्ण गरेका बिद्यार्थीले यी कोर्षमा भर्ना हुन पाउनेछन्।

नरबहादुर कर्माचार्य नेपाल कम्युनिष्ट पार्टीका सँस्थापक सदस्य हुनुहुन्छ। उहाँको नाममा स्थापना भएको प्रतिष्ठानले केही बर्ष अघिदेखि सुनसरीमा शाखा खोली बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ।