इटहरी/ नरबहादुर कर्माचार्य स्मृति शिक्षालयले तीन वर्षे डिप्लोमा तहको सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र एग्रीकल्चर विषयको अध्यापन शुरु गरेको छ। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा सुनसरीको इटहरीमा सञ्चालित सो शिक्षालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) को सम्बन्धनमा उल्लेखित बिषयको अध्यापन शुरु गरेको हो।

एसीसहितको कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला, छात्रवृत्तिको व्यवस्थाका साथै शुलभ शुल्कमा सैद्धान्तिक ज्ञानका साथै व्यवहारीक सीपको विकासका लागि बिद्यार्थीलाई सरकारी तथा नीजि र सामुदायिक आयोजना एवं कार्यालयमा इन्टर्नसीपको सुविधा प्रदान गरिने शिक्षालयका प्राचार्य अर्जुनकुमार उप्रेतीले बताउनुभएको छ।

उप्रेतीले एक सुविधासम्पन्न एवं आधुनिक बहुप्राविधिक शिक्षालय निर्माण गरी स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकता अनुसार प्राविधिक शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै मध्यम तहको दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यी कार्यक्रमहरु सञ्चालनमा ल्याइएको बताउनुभयो।

बिभिन्न क्षेत्रमा देशलाई आवश्यक दक्ष प्राविधिक जनशक्तिको उत्पादन गर्न प्राविधिक शिक्षालयको स्थापना र सञ्चालन गर्ने, रोजगारमूलक तथा व्यावसायीक तालिम र प्रशिक्षण दिई सीपयुक्त जनशक्ति निर्माण गर्ने, बेरोजगार जनशक्तिलाई प्राविधिक ज्ञान र सीप प्रदान गरि उद्यमशील र व्यावसायीक बनाउने तथा शुलभ शुल्कमा प्राविधिक शिक्षा दिई सर्वसाधारणमा पहुँच अभिवृद्धि गर्ने शिक्षालयको उद्देश्य रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका सुनसरी जिल्ला अध्यक्ष निर्मल बरालले बताउनुभएको छ।

यसका अतिरिक्त नरबहादुर कर्माचार्यको स्मृतिमा बिभिन्न रचनात्मक एवं जनसेवाका कार्यक्रमहरु सञ्चालन गर्ने र मुलुकको लोकतान्त्रिक, सामाजिक परिवर्तनको आन्दोलनमा बिशिष्ट योगदान पुर्‍याउने ब्यक्तिहरुको योगदानको सम्मान र कदर गर्ने पनि शिक्षालयको उद्देश्य रहेको बरालको भनाई छ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान नेपालको लोकतान्त्रिक तथा सामाजिक परिवर्तनको आन्दोलनका एक सम्मानित ब्यक्तित्वको स्मृतिमा स्थापित सामुदायीक सामाजिक संस्था रहेको उल्लेख गर्दै प्रतिष्ठानका सचिव बहादुरसिंह (ज्वाला) तामाङले यस प्रतिष्ठानले समुदायका आधारभूत तह सम्मका नागरिकको आर्थिक जीवनमा परिवर्तन ल्याउन तथा सामाजिक परिवर्तनको अभियानलाई आफ्नो उदेश्य अनुरुप निरन्तर सहयोग पुर्‍याउँदै आएको बताउनुभयो।

नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) द्वारा निर्मित व्यवहारिक र अद्यावधिक पाठ्यक्रममा अध्यापन गराइने सिभिल इन्जिनियरिङ बहुउपयोगी शैक्षिक कार्यक्रम रहेको प्राचार्य उप्रेतीको भनाई छ। यसको अध्ययनपछि कन्स्ट्रक्सन म्यानेजमेन्ट, जियो–टेक्निकल इन्जिनियरिङ, पब्लिक वर्कस् इन्जिनियरिङ, स्ट्रक्चरल इन्जिनियरिङ, ट्रान्स्पोर्टेसन इन्जिनियरिङ, वाटर रिसोर्स इन्जिनियरिङजस्ता क्षेत्रमा रोजगारीको अवसर पाइने कलेजका प्राचार्य उप्रतीले बताउनुभयो।

यसैगरी, नेपाल सरकारको प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सीटीइभीटी) द्वारा निर्मित होटल म्यानेजमेन्ट कार्यक्रमले आतिथ्य र पर्यटन उद्योग को क्षेत्रमा बिद्यार्थीलाई बिस्तृत दायरा प्रदान गर्ने शिक्षालयको भनाई छ। यो कार्यक्रमले बिद्यार्थीलाई कुनैपनि होटेल वा पर्यटन क्षेत्रमा आफ्नो अवसर आफै सिर्जना गर्न मद्दत गर्ने र बिद्यार्थीलाई सीपयुक्त जनशक्ति बनाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन तथा होटल उद्योगमा रोजगारीको अवसर दिने बताईएको छ।

यसको अध्ययनपछि फ्रन्ट अफिस म्यानेजर, रेष्टुरेन्ट म्यानेजर, हाउस किपिङ म्यानेजर, सुपरभाइजर, क्रुजसिप म्यानेजर, सेफजस्ता क्षेत्रमा रोजगारीको अवसर प्राप्त हुने सम्भावना रहन्छ।

यस्तै, कृषि बाली बिज्ञानको अध्ययनपछि क्वालिटि एस्युरेन्स टेक्निसियन, प्रोडक्सन टेक्निसियन, अपरेसन टेक्निसियन, फार्म एक्सपर्ट, प्लान्टेसन एसिस्टेन्ट म्यानेजर,फर्टिलाइजर म्यानुफ्याक्चरिङ टेक्निसियन, एग्रीकल्चरल मसिनरी इन्डष्ट्रिज टेक्निसियनजस्ता क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी पाईने शिक्षालयले जनाएको छ।