काठमाण्डौ/ सर्च कमिटीले झण्डै चार दर्जन आकांक्षीहरुमध्येबाट काठमाडौं बिश्वबिद्यालय (केयू)को उपकुलपतिमा डा.रामकण्ठ माकाजुसहित तीनजनाको नाम छनौट गरेको छ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले डा. माकाजु, केयूका पूर्वरजिष्ट्रार डा.भोला थापा र शिक्षा बिभागका बालचन्द्र लुइँटेलको नाम छनौट गरेको हो। केयूको उपकुलपति बन्न इच्छा देखाउँदै ४४जनाले शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए।

संक्षिप्त सूचीमा परेका माकाजु, थापा र लुइँटेलको नामावलीलाई अव कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाइने छ र प्रधानमन्त्री ओलीले कुनै एकजनालाई केयूको उपकुलपति नियुक्त गर्ने शिक्षा मन्त्रालयका एक अधिकारीले बताएका छन्। उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ।

माकाजुले केयूको उपकुलपतिको रुपमा लगातार दोश्रो कार्यकाल पूरा गरिसक्नुभएको छ। उहाँलाई फेरि सर्च कमिटीले तेश्रो कार्यकालका लागि पनि सिफारिस गरेको छ। आठ बर्षे कार्यकालमा माकाजु बिवादित बनेको भन्दै केयूमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले एउटै व्यक्तिलाई पटक–पटक नेतृत्व नसुम्पिन दबाबमुलक कार्यक्रम गर्दै आएको छ। केयूका उपकुलपति डा.माकाजुको पछिल्लो कार्यकाल यही माघ १० गते सकिँदै छ।

केयूको ८८ औं सिनेट बैठकले उपकुलपति छनौट गर्न सहकुलपतिसमेत रहेका शिक्षामन्त्री श्रेष्ठको नेतृत्वमा सर्च कमिटी गठन गरेको थियो। सर्च कमिटीमा केयूको बोर्ड अफ ट्रष्टीका प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकुलपति सुरेश राज शर्मा सदस्य छन्। ढुंगाना र शर्मा माकाजुलाई तेश्रो कार्यकाल पनि उपकुलपति बनाउनुपर्ने पक्षमा उभिएका छन्।

माकाजुले ढुंगानालाई बोर्ड अफ ट्रष्टीमा राख्ने र ढुंगानाले माकाजुलाई नै उपकुलपति नियुक्तिमा सिफारिस गर्ने श्रृंखला बर्षौंदेखि चल्दै आएको भन्दै कतिपयले बिरोधसमेत जनाएका छन्।

-अनलाईनखबर