इटहरी/ सिद्धार्थ यूवा समुह इटहरी ३ले सञ्चालन गरेको दिलेन्द्र राई स्मृति तेश्रो सिद्धार्थ नकआउट फुटबल प्रतियोगिताको फाईनल खेलमा गाईघाट फुटबल क्लव उदयपुर र राजाबास फुटबल क्लव बराहक्षेत्र सुनसरी भिड्ने भएका छन्। उपाधी रक्षाका लागि इटहरी ३ स्थित तामाङ टोलस्थित खेल मैदानमा उनिहरु आमने सामने भएका हुन्।

गाईघाट फुटबल क्लव उदयपुर पञ्चायन फुटबल क्लव सुनसरीलाई पहिलो सेमिफाईनल खेलमा २–१ले रोक्दै फाईनल प्रवेश गरेको हो। यसैगरी राजाबास फुटबल क्लव बराहक्षेत्र सुनसरी इटहरी फुटबल क्लवलाई दोश्रो सेमिफाईनल खेलमा २–१ले नै पछि पार्दै फाईनल प्रवेश गरेको हो।

भोलि तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा हुने फाईनल खेल ठिक १ बजे शुरु हुने आयोजक सिद्धार्थ फुटबल क्लवले जनाएको छ।

यसअघि दुईवटा सँस्करणमा प्रतियोगिता गरिसकेको आयोजकले यो सँस्करण भने क्लवका खेलाडी दिलेन्द्र राईको स्मृतिमा सञ्चालन गरेको हो। प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैँया नगद, ट्रफि, मेडल र प्रमाण पत्र साथै द्वितीय हुनेले ३१ हजार रुपैँया नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ।

सोनाम ल्होछारको अवसरमा सास्कृतिक कार्यक्रम हुने
तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा इटहरी ३स्थित तामाङ टोलमा ल्होछार बिशेष कार्यक्रम हुने भएको छ। कार्यक्रम स्थानीय खेल मैदानसँगै हुने आयोजकले जनाएको छ।

बिशेष साँस्कृतिक कार्यक्रमसहित हुने ल्होछार कार्यक्रममा एस २ स्टार डान्स सेन्टर इटहरीले तामाङ सेलो प्रस्तुत गर्ने आयोजकको भनाई छ।