इटहरी/ सँस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्री भानुभक्त ढकालले प्रदेश एक पर्यटनको क्षेत्रमा अब्बल र अगाडी रहेको बताउनुभएको छ। सुनसरीको इटहरीमा निर्माण सम्पन्न भएको इपिल्याण्ड एण्ड वाटर पार्कको उद्घाटन गर्दै मन्त्री ढकालले त्यसो भन्नुभएको हो।

सरकारले वर्ष २०२० पर्यटन बर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्य्राउने भनिएपनि कोरोना भाईरसका कारण सफल हुन नसकेको भन्दै मन्त्री ढकालले पर्यटन क्षेत्रमा त्यति फड्को मार्न नसकेको बताउनुभयो।

उहाँले प्रदेश एकमा पनि पर्यटनको सम्भावना अनेकौ रहेपनि निजि क्षेत्रले लगानी गर्न डराएको अवस्था देखिएको टिप्पणी गर्दै ब्यवसायीहरुलाई लगानीको वातावरण मिलाउन सरकारसँग आवश्यकय पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो।

कार्यक्रमका अर्का बक्ता नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले निजि क्षेत्रका ब्यवसायीलाई सरकारले प्राथमिकतामा नराख्दा उनिहरुको अरबौ लगानी जोखिममा परेको बताउनुभयो। उहाँले पर्यटन क्षेत्रमा लगानी गर्न एक सय एक ब्यवसायी तयार रहेका भन्दै डुब्ने खतरा बढेको कारण अघि सर्न नसकेको धारणा राख्नुभयो।

त्यस्तै इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले निजि क्षेत्रको करोडौ लगानीबाट सञ्चालनमा आएको अत्याधुनिक पार्कले इटहरीको पर्यटन क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो। मेयर चौधरीले भोलिका दिनमा यस क्षेत्रलाई नेपालकै पर्यटकीय क्षेत्रको गन्तब्य मानिनेमा कुनै आशंका नरहेको बताउनुभयो।

इपिल्याण्ड एण्ड वाटर पार्कको उद्घाटन
नेपालमै पहिलो पटक सुनसरीको इटहरीमा बिभिन्न प्रविधियुक्त सुविधा सम्पन्न वाटरपार्क सञ्चालनमा आएको छ। ३० करोडको लागमा निर्माण सम्पन्न भएको ‘इपिल्याण्ड एण्ड वाटर पार्क’मा बच्चा देखि तन्नेरी हुँदै बृद्धबृद्धा सम्मले मनोरञ्जन लिनसक्ने छन्।

गत वर्षको चैत्रमै उद्घाटन गर्ने भनिएपनि कोरोना कहरका कारण निर्माण कार्य रोकिएको पार्कलाई नयाँ ब्यवस्थापन र फरक ढंगले सञ्चालन गर्न लागिएको र यो नेपालकै पहिलो पार्क रहेको पनि इपिल्याण्ड एण्ड वाटर पार्कका अध्यक्ष भीमबहादुर पौडेलले बताउनुभयो ।

६ बिगा क्षेत्रफल ओगटेको पार्कभित्र गर्मिमा स्विमिङको मज्जा लिँदै पारिवारिक वातावरणमा वरिपरिका दृश्यहरू संगालेर बिभिन्न परिकारहरुका स्वाद लिन सकिने र करीब ५०० मिटरको जिपलाईन समेत सञ्चालनमा ल्याइएको छ।

तालतलैया जाने बाटैमा पार्क रहेको कारण पछिल्लो समय पर्यटकहरुको गन्तब्य र प्रदेश एकमा सबैभन्दा लोकप्रीय गन्तब्य यहि पार्क बन्नेमा बिश्वस्त रहेको पार्कका अध्यक्ष भिम पौडेलले बताउनुभयो।

पार्कका सञ्चालक जगत बस्नेतले पार्कको बिशेषतासँगै पानिलाई स्वच्छता राख्ने बारेमा प्रस्ट्याउनुभयो। उहाँले पार्क भित्र प्रवेश गर्न तिनवटा दरका टिकट राखिएको र ससाना बालबालिकालाई ४ सय रुपैँया, बिद्यार्थीलाई ६सय ५०रुपैँया र अन्यलाई ८सय ५०रुपैँया कायम गरिएको बताउनुभयो।

सोहि शुल्कमा पार्क भित्र सम्पुर्ण दृष्यहरु अवलोकनका साथै मनोरञ्जन लिन सकिने बताइएको छ। गर्मी मौसम शुरु भएको कारण चिसो पानीमा रमाउने आन्तरिक पर्यटकको घुईचो लाग्ने अवस्थालाई मध्यनजर गर्दै पार्कभित्रको पानीलाई स्वच्छता साथै बिभिन्न आकारका स्विमिङ पुलको निर्माण गरिएको जनाइएको छ।