इटहरी/ इटहरी क्षेत्रमा हरेक साता जसो मोटरसाईकल चोरी हुन थालेपछि इलाका प्रहरी कार्यालय इटहरीलाई टाउको दुखाईको बिषय बनेको छ। फरक फरक ठाउँबाट हरेक साता जसो मोटरसाईकल चोरी हुन थालेपछि प्रहरीको टाउको दुखाई भएको हो।

मोटरसाईकल चोरीको क्रम बढेको भनेर समाजमा चर्चा चलिरहँदा इटहरीले चोरी नियन्त्रणमा लागी सक्दो काम गरिरहको छ। इटहरी प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गरेर मोटरसाईकल चोरी नियन्त्रणको प्रयास जारी राखेको छ।

यसै शिलशिलामा प्रहरीले केहि समय अगाडी अपरेशन ह्विल नाम गरेको अभियान नै चलाएर केहि बाईक चोरलाई पक्राउ गरेको थियो। यसैको निरन्तरता स्वरुप इटहरी प्रहरीले झापाको दमक नगरपालिका ४ बस्ने २१ बर्षीय माङफुङ भन्ने बसन्त सेन्दाङलाई मोटरसाईकल चोर्ने क्रममा पक्राउ गरेको हो।

यो हो सेन्दाङले चोर्दै गरेको मोटरसाईकल
यहि चैत्र २ गते बेलुका सवा ७ बजेतिर इटहरी ४ आईतबारेका शोभित बस्नेतको घरमा पार्किङ गरेर राखेको प्रदेश १-०२-०४२ प २६३४ नम्वरको १५० सिसीको पल्सर मोटरसाइकल चोर्दै गर्दा सेन्दाङ पक्राउ परेका हुन्।

सेन्दाङले सो मोटरसाईकलको तार काटेर जोड्दै गर्दा मोटरसाइकल धनिको सहयोगमा इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत सादा पोशाकका प्रहरीले घेरा हालेर पक्राउ गरेको हो।

सेन्दाङलाई नियन्त्रणमा लिएर साथमा रहेको झोला तलासी गर्दा एउटा मोवाइल, एउटा रेञ्च र एउटा कैँची बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत प्रहरी निरीक्षक केशव कुमार कटवालले जानकारी दिनुभयो।

सेन्दाङ यसअघि पनि सवारी अंगभंग मुद्दामा पक्राउ परेर कारागार बसेर छुटेको प्रहरी अनुसन्धानमा देखिएको प्रहरी श्रोतको भनाई छ।

मोटरसाईकलसहित पक्राउ परेका सेन्दाङलाई सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दा म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कटवालको भनाई छ।

चालु आर्थिक बर्षमा हराए २१वटा सवारी साधन
चालु आर्थिक बर्षको हालसम्मको अवधिमा २१वटा सवारी साधन हराएको प्रहरीमा उजुरी परेको इटहरी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले पूर्वी खबरसँगको सम्बादका क्रममा उल्लेख गर्नुभयो। प्रनाउ केसीले दिनुभएको जानकारी अनुसार २०वटा मोटरसाईकल र एउटा कार चोरी भएको प्रहरीमा जाहेरी प्राप्त भएको छ।

जसमध्ये ९जना चोरीमा संलग्न ब्यक्तिहरु (चोरहरु)लाई नियन्त्रणमा लिएको प्रनाउ केसीले बताउनुभयो। उहाँले बेलबारी, झापाको दमक बिर्तामोडलगायतका ठाउँबाट हराएका मोटरसाईकल फेला पारेर सम्बन्धित एरियामा आवश्यक कारबाहीको लागि पठाईएको बताउनुभयो।

चालु आर्थिक बर्षमा ३६वटा चोरीका मुद्दा दर्ता
इटहरी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले चालु आर्थिक बर्षको हालसम्मको अवधिमा ३६वटा चोरीको मुद्दा प्रहरीमा उजुरी आएको पूर्वी खबरसँगको सम्बादका क्रममा उल्लेख गर्नुभयो।

ति मुद्दामा ४८ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको प्रनाउ केसीले बताउनुभयो। उहाँले ४८ जना मध्य ३०जना धरौटीमा रिहा भएको, १०जना पुर्पक्षका लागि कारागार चलान भएको बताउनुभयो। प्रनाउ केसीले पक्राउ परेका ४८जना मध्य ८जना चाहिँ अनुसन्धानकै क्रममा रहेको बताउनुभयो।

आधादर्जन बढि त साईकल चोर नै
चालु आर्थिक बर्षमा करिव १०वटा साईकल चोरीको मुद्दा दर्ता भएको छ। दर्ता भएको जति नै संख्यामा साईकल फेला पारेको इटहरी प्रहरीको रेकर्ड छ। अहिले पनि चारजना साईकल चोहरुलाई साईकलसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।

यस्तो छ गएको तीन बर्षको चोरीको रेकर्ड
इलाका प्रहरी कार्यालय इटहरीले गत तीनबर्ष यता हालसम्मको अवधिमा १सय ६६वटा चोरीको मुद्दा दर्ता भएको जनाएको छ। जसमा आर्थिक बर्ष २०७५/०७६मा ८८वटा, आर्थिक बर्ष २०७६/०७७ मा ४२वटा र चालु आर्थिक बर्षको हालसम्मको अवधिमा ३६वटा मुद्दा दर्ता भएको इटहरी प्रहरीको भनाई छ।

इटहरी प्रहरी अघिल्लो बर्षको तुलनामा चालु आर्थिक बर्षमा चोरीको मुद्दा दर्ताको संख्या बढ्न सक्ने जनाएको छ। चालु आर्थिक बर्षको ८ महिनाको अवधीमा ३६वटा मुद्दा दर्ता भईसकेपछि अरु ४ महिनामा संख्या बृद्दि हुने अनुमान गरेको छ।

इटहरी प्रहरीको बढ्दो सकृयता एवं इटहरी प्रहरी प्रतिको बढ्दो बिश्वासका कारण संख्या बढ्न सक्ने अनुमान गरिएको हो। प्रहरीले लागि परेर चोरी नियन्त्रणका लागि प्रयास जारी राखेका कारण पनि आफ्नामा भएको चोरी जाहेरी दिने क्रम बढ्न सक्ने बुझिएको हो।