इटहरी/ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ। बिस्तारित मन्त्रीमण्डलमा संकटको बेला सहयोग गरेकाहरुलाई प्राथमिकता दिईएको छ।

माओबादी केन्द्र छोडेका टंक आङ्बुहाङ, माधव नेपाल समुहमा केहि समय रहेर मुलधारमा फर्किएकी उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ। राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिईएको छ। उषाकला राईले सामाजिक बिकासमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । नेपाल समूहबाट ओली समूहमा लागेका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना मन्त्रीमा बढुवा हुनुभएको छ । अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा हुनुभएको छ ।

नेपाल समुहबाट मुलधारमा आउनुभएकी उदयपुरकी सांसद कला घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । मोरङका राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

जिम्मेवारी पाएका मन्त्री र राज्यमन्त्रीको सपथग्रहण दिउँसो १ बजे हुने बुझिएको छ । गत पुस १२ गतेयता मुख्यमन्त्री राईले मुख्यमन्त्रीसहित चारवटा र हिक्मतकुमार कार्कीले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको थियो।

आफूबिरुद्धको आविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन आफ्ना सांसदलाई बुधबार एक साताको समय दिनुभएका मुख्यमन्त्री राईले लगत्तै सरकार बिस्तार गर्नुभएको हो। बिस्तारपछि प्रदेश मन्त्रिपरिषद् नौ सदस्यीय हुनेछ।

पुस १२ गते मुख्यमन्त्री राईबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा तत्कालीन प्रचण्ड–माधव समूहका नेता तथा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री बिजय विश्वासले राजीनामा दिएका थिए।

१० पुसमा मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई हटाउनुभएको थियो। त्यसयता मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री मात्रै थिए।

राजनीतिक रस्साकस्सीको तीन महिनापछि मुख्यमन्त्री राईले सामाजिक बिकास, आर्थिक मामिला, भौतिक पूर्वाधार र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्री नियुक्त गर्नुभएको हो।

श्रोत : कोशी अनलाईन र हाम्रो मत