सुनसरी/ सुनसरीको इटहरीमा सम्पन्न भएको स्व.गिरिजाप्रसाद कोईराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि बिराटनगर महानगरपालिकाले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा दमकनगरपालिकालाई १-0 गोल अन्तरले पराजित गर्दै बिराटनगरले उपाधी जितेको हो।

उपाधीसँगै बिराटनगरले नगद २ लाख रुपैया हात पारेको छ। उपबिजेता दमक नगरपालिकाले नगद १ लाख रुपैयामा चित्त बुझाएको छ। बिराटनगरले उपाधी जितेको खुसियालीमा प्रतियोगिताका बिशिष्ट अतिथि समेत रहेका महानगर प्रमुख भीम पराजुलीले पुरस्कार राशीमा नगद २ लाख थप गरिदिएका छन्।

बिराटनगरको जितमा भुवन बस्नेतले गरेको एकमात्र गोल निर्णयक बन्यो। उनले खेल शुरु भएको तेस्रो मिनेटमै गोल गरेका थिए। प्रतियोगिताको उत्कृट खेलाडी बिराटनगरका असिम राई घोषित भए। उनले नगद ५ हजार सहित ट्रफी पाए।

खेलको म्यान अफ द म्याच दमकका प्रबिण राई घोषित हुँदै नगद ३ हजार पाए। बिराटनगरका सनम राई उत्कृष्ट गोलकिपर, रमेश राजबंशी उत्कृष्ट डिफेण्डर, सुशान्त तामांग उत्कृष्ट फरवार्ड, भुवन बस्नेत सर्वाधिक गोलकर्ता र पारष चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए। दमकका माल्दिना आंगपुचो उत्कृष्ट मिडफिल्डर भए। उनीहरु सबैले जनही ३–३हजार सहित ट्रफी पाए।

बिजेता तथा उपबिजेता टिमलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल, प्रदेश एकका नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, एन्फा बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, मानार्थ उपाध्यक्ष किशोर राई, केन्द्रिय सदस्य दिपक राई, प्रतियोगिता संयोजक सूर्य राईलगायतले पुरस्कार बितरण गरे।

इटहरीस्थत क्षेत्रिय रंगशालामा सम्पन्न प्रतियोगितामा प्रदेश एकका ८वटा नगरपालिकाका टिम सहभागी थिए। चैत्र १३गतेदेखी सुरु भएको प्रतियोगिताको नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक उद्घाटन गरेका थिए।