बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चिरफार र घाउ नबनाई दुरबिनको माध्यमबाट मस्तिष्क भित्रको ट्यूमरको सफल शल्यक्रिया गरिएको छ। नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले झापाकी देवी राना मगरको सफल शल्यक्रिया गरेको हो।

झापाको शिवसताक्षी नगरपालिका–११ की ३५ बर्षीया मगरको नाकको प्वालबाट ईण्डोस्कोप छिराई दुरविनको माध्यमबाट विना चिरफार ‘पिट्वीटरी ग्राल्न्ड’ को सफल शल्यक्रिया गरिएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्लेले जानकारी निुभयो।

यस्तो शल्यक्रिया बिरामीका लागि निकै लाभदायी हुने डा.काफ्लेले बताउनुभयो। उहाँले ‘दुरविनबाट शल्यक्रिया गर्दा छिटो हुने, रगत धेरै खेर नजाने, बिरामी लामो समय अस्पताल बस्नु नपर्ने, चोट नदेखिने र कम खर्चिलो भएकाले बिरामीलाई सहज हुन्छ’ भन्नुभयो। Birami Photo

मगरलाई करिब १७ बर्ष अघिदेखि टाउको दुख्ने समस्या शुरु भएको थियो। सधै नदुख्ने तर, दुखेपछि खपिनसक्नु गरी दुख्ने हुँदा उहाँले बर्षौ अघिदेखि पीडा झेल्दै आउनुभएको थियो। केही दिनअघि निरन्तर टाउको दुखेपछि उहाँलाई अस्पताल भर्ना गरियो। अस्पतालमा परीक्षण गराउँदा मस्तिष्क भित्रको ट्यूमर पत्ता लाग्यो। डाक्टरले शल्यक्रिया गराउन सुझाव दिएपछि उहाँ डराउनुभएको थियो। ‘अप्रेशन भन्ने बित्तिकै चिरफार गर्नुपर्ने जस्तो लाग्छ, त्यस्तै होला भनेर डर लागेको थियो। तर, बाहिर देखिने गरी कतै घाउ नै नबनाई मस्तिष्कको अप्रेशन हुँदा खुशी लागेको छ,’ मगरले भन्नुभयो।

अप्रेशनपछि स्वास्थ्यमा सुधार आएपछि उहाँ अहिले अस्पतालबाट डिस्चार्ज भई घर फर्किसक्नुभएको छ। टाउकोमा पानी जमेको, दिमागमा रगत जमेकोसहित ट्यूमरहरुको अप्रेशन नोबेलमा दुरविनको माध्यमबाट गरिँदै आएको छ। करिब चार बर्ष अघि दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा शुरु गरेको नोबेलले दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ।