काठमाण्डौ/ ‘मैले उहाँका विगतका प्रस्तुतिहरुको बारेमा बोल्नु पर्दैन, आजको प्रस्तुतिको बारेमा यतिमात्रै भन्छु बाँकी त प्रस्तुतिमा हेरिहाल्नु हुन्छ....पूर्वयुवराज पारस शाह बनेर आउँदै हुनुहुन्छ... भरतमणि पौडेल,’ रियालिटी शो कमेडी च्याम्पियनका उद्घोषकले यति भनेपछि मञ्चमा शाहको गेटअपमा देखिन्छन् प्रतिस्पर्धी, भरतमणि पौडेल ।

अनि सुरु हुन्छ मञ्चमा रोमाञ्चक माहोल । लामो कपाल, त्यसमाथि ढाका टोपी, गलामा रुद्राक्षको माला, लामो कमिज लगाएका व्यक्ति अर्थात झलक्क हेर्दा पारस शाहजस्तै देखिने गेटअप । अनि सुरु हुन्छ–उनको उही हाउभाउका साथ प्रस्तुति । 

शनिबार प्रशारण भएको कमेडी च्याम्पियनको अन्तिम ४ को प्रतिस्पर्धामा पारसको गेटअपमा मञ्चको एक कुनामा बसिरहेका उनलाई कसैले भन्छ–ल जाउँ सरकार ! उनको जवाफ हुन्छ–म किन जाने ? किन जाने ? पारसको क्यारिकेचर गर्दै भरतमणिले यति भनेपछि दर्शकदिर्घाबाट सुरु हुन्छ, हुटिङ । त्यसपछि पारसले सन्तोष दाइ (सन्तोष पन्त) ले बोलाएर आफू जान तयार रहेको बताउँछन् भने पन्तले ‘जाउँ’ भनेपछि म्युजिक बजाउन अनुरोध गर्छन् र सुरु हुन्छ पारस शैलीको डान्स -

‘रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस् ​, ज्यानै चढाइ दिउँला सिरिफ हुकुम बक्सियोस्’ 

यो गीतमा पौडेलको पारसको हाउभाउवाला डान्सबाट माहोल थप तातिन्छ । अनि थप अघि बढ्छ उनको प्रस्तुति । प्रस्तुतिका क्रममा उनले जजहरुलाई जोडेर कमेडी पस्किए । त्यसपछि पारसले मोटरसाइकलमा सवार हुँदा हेलमेट नलाएको प्रति व्यङ्ग्य पस्कियो भने राजतन्त्र, कमल थापाको पार्टीदेखि लिएर वर्तमान राजनीतिक परिस्थितिका बारेमा उनको कटाक्ष केन्द्रीत रह्यो । पौडेलले आफ्नो प्रस्तुतिका क्रममा व्यङ्ग्य गर्दै भने, ‘रामकुमारी झाँक्री मलाई मन पर्छ, किनभने अरुले खुट्टा तान्छ, उहाँले त हातै तानिदिन्छ ।’ 

यस्तै उनले बाबुराम भट्टराईलाई पनि छाडेनन्, ‘भेरि रोमान्टिक मोमेन्ट पोलिटिकल । मलाई मनपर्ने पुरुष नेता पनि हुनुहुन्छ, डाक्टर बाबुराम भट्टराई । ताक परे अब राप्रपामा आउन सक्छ, पार्टी फेरिरहन्छ । यत्रो क्रान्ति गरेर पनि फार्टी फेरिराछ ल.. ! अस्तिअस्ति उ त्यो सन्तोष थापालाई भोट मागिराथ्यो... ।’

त्यसपछि पत्रकार र पारसबीचको संवादका दृश्य रोचक सुनिन्छ । पारसको पत्रकारसँग प्रस्तुत हुने शैली तथा आजकालका युट्युब पत्रकारिताबारे कटाक्ष केन्द्रीत थियो । उनले आफ्नो प्रस्तुतिका क्रममा राष्ट्रभक्ति वास्तविक हुनुपर्ने सन्देश दिए भने राजतन्त्र ढलेपछिको अवस्थाबारे पनि बुझाउने प्रयास गरिएको थियो । 

प्रस्तुतिपछि सबै जजहरुबाट उनको प्रशंशा भएको थियो भने उत्कृष्ट प्रस्तुतिको आधारमा उनलाई सिधै अन्तिम ३ मा लगियो । उत्कृष्ट ४ बाट उनी बिना भोटिङ सिधै फाइनलमा प्रवेश गरेका हुन् । बाँकी ३ प्रतिस्पर्धीबाट दुई जना भने भोटिङबाट फाइनालिस्ट छानिनेछन् । 

यसअघि नै भरमणिको पारस लुक्सको ट्रेलर सार्वजनिक भएपछि चारैतिर चर्चा पाइरहेको थियो । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेल यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकको प्रिय बन्न सफल पौडेल उपाधिका दावेदार मानिन्छन् ।  

हेर्नुहोस भिडियो :

-रातोपाटीबाट