धनकुटा/ धनकुटाको चौविसे गाउँपालिकाले सरकारी सेवा सुबिधा लिईरहेका जो कोहिले पनि आफ्ना सन्तानलाई सरकारी बिद्यालयमा अध्यापन गराएको नपाए सेवा सुबिधा उपलब्ध नगराउने जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीद्वारा हस्ताक्षरित सुचनामा यस्तो जनाईएको हो।

बुधबार जारी सुचनामा गाउँपालिकामा रहेका सबै सरकारी कार्यालयहरुलाई सम्बोधन गर्दै प्रेशित सुचनामा निर्णय कार्यान्वयन गर्ने तथा बिवरण उपलब्ध गराउन भनिएको छ।

सुचनामा चौविसे गाउँपालिकाको कार्यालयको निर्णय बमोजिम गाउँपालिका अन्तर्गत कार्यरत सबै सरकारी कार्यालय (गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायीक बिद्यालय, सामुदायिक सिकाइ केन्द्र) मा कार्यरत सरकारी सेवा सुविधा उपभोग गर्ने कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्नो एकाघरको बालबालिका सामुदायिक बिद्यालयमै पढाउनुपर्ने ब्यवस्था रहेको उल्लेख छ।

सुचनामा गाउँपालिका भित्र रहेका सबै कार्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा जनप्रतिनिधिका बालबालिका चौविसे गाउँपालिका अन्नर्गतका कुनैपनि संस्थागत बिद्यालयमा अध्ययनरत नभएको जानकारी पत्र तथा अध्ययनरत रहेको भए सो को बिवरण गाउँपालिका कार्यालयमा असोज १८ गते सोमबार कार्यालय समयभित्र प्राप्त हुने गरी पठाउन भनिएको छ।

सुचनामा गाउँपालिकाको यस्तो निर्णय तथा यस सूचनालाई बेवास्ता गरी उल्लिखित बिवरण नपठाउने कार्यालयहरुलाई तथा निर्णय विपरित आफ्ना बालबालिका सामुदायिक बिद्यालयमै भर्ना नगर्ने कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिलाई गाउँपालिकाबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा उपलब्ध गराउन नसक्ने ब्यहोरा जानकारी गराईन्छ भनिएको छ।

www