सुनसरी/ सुनसरीको इटहरीबाट नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २०जना कार्यकर्ता पक्राउ परेका छन्। इटहरीमा बजार पसल बन्द गराउँदै हिडेका उनिहरु बिहान ११बजेतिर पक्राउ परेका हुन्।

पेट्रोलियम पदार्थको मुल्य बृद्दिको बिरोधमा ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्द कार्यक्रम आयोजना गरेको थियो। आफ्नो पूर्व घोषित कार्यक्रमलाई सफल बनाउन भन्दै बजार पसल बन्द गराउँदै हिडेका उनिहरुलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलिले नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक अर्जुन केसीले बताउनुभयो।

खुल्ला रहेको इटहरी बजार बन्द गराउदै हिडेका ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २०जना कार्यकर्ता पक्राउ गरेको र इटहरीमा राख्ने ठाउँको अभाव भएपछि धरान पठाईएको प्रहरी निरीक्षक केशव कटवालले बताउनुभयो।

ब्यवसायीको इच्छा बिपरित बजार पसल बन्द गराउँदै हिडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। पक्राउ परेकाहरु सम्भवत साँझ सम्ममा छोडिने बुझिएको छ।

यसैबीच ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दको आंशिक रुपमा मात्र असर परेको छ। सुनसरीको धरान,तरहरा, इनरुवा, दुहबीलगायतका ठाउँहरु खुल्लै रहेका छन्। यस्तै छोटो दुरीका प्रायः सबै सवारीसाधनहरु पनि निर्वाध चलिरहेका छन्।

पक्राउ पर्नेहरुमा ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सुनसरी जिल्ला सदस्यहरु धनकुटाको छथर जोरपाटी गाउँपालिका ८ का ४८बर्षीय पासाङ तामाङ, यस्तै इटहरी १३ का ४५बर्षीय जीबन कट्टेल र काठमाण्डौ महानगरपालिका २८ का ४६ बर्षीय भोला अधिकारी छन्।

यस्तै इटहरी प्रहरीले ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु इटहरी १२ का ५० बर्षीय देबराज न्यौपाने, धनकुटा नगरपालिका २ का २२ बर्षीय समिर बिश्वकर्मा, इटहरी १२ का १८ बर्षीय पवन राजबंशी, इटहरी ७ का १८ बर्षीय शंकर चौधरी, इटहरी ११ का १७ बर्षीय श्रवण राई र सुजन कार्की, इटहरी ११ कै १८ बर्षीय बिक्की राजबंशी, इटहरी ११ का १७ बर्षीय भबिन राई , धनकुटा २ का १९ बर्षीय सुमन क्षत्री, इटहरी १० का १७ बर्षीय सुरज बिश्वास, इटहरी ७ का १७ बर्षीय निशान मगर, इटहरी ११ का १६ बर्षीय अजय चौधरी, इटहरी ७ का २४ बर्षीय कैलाश राई, १८ बर्षीय रितेश योगी, १८ बर्षकै सन्दिप चौधरी, र सामेल लिम्बु र इटहरी १३ का २० बर्षीय कौशल कट्टेललाई पक्राउ गरेको हो।

तस्विर श्रोत : प्रदेश दर्पण