इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीबाट बिदा हुन लाग्नुभएका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले इटहरीको मुख्य समस्या सवारी ज्यान रहेको बताउनुभएको छ। मंगलबार बिहान सञ्चारकर्मीहरुसँगको बिदाई भेटघाटमा केसीले यस्तो बताउनुभएको हो।

प्रनाउ केसीले यसअघि कोशी राजमार्ग साँघुरो रहेका कारण सवारी साधनहरुको गति कम हुने गरेका कारण दुर्घटना कम हुने गरेको तर हाल सडक फराकिलो भएका कारण दुर्घटनाको दर बढेको उल्लेख गर्नुभयो।

उहाँले सडक फराकिलो बनेसँगै चालकहरुले तथा पैदल यात्रुहरुले सडक अनुशासनको पालना नगर्दा दुर्घटनाको दर बढेको बताउनुभयो। केसीले भन्नुभयो “बाटो फराकिलो त बन्यो तर मानिसहरुमा चेतनाको कमी यथावत रह्यो, मानिसले सडक अनुशासन पालना गरेनन्”।

प्रनाउ केसीले सवारी दुर्घटना कम गर्न ट्राफिक जनचेतना जगाउन आवश्यक रहेको भन्दै मानिसमा ट्राफिक चेतना बृद्दि नभएसम्म दुर्घटनामा कमि नआउने उल्लेख गर्नुभयो। IMG_2269

इटहरीमा अन्य घटनाको तुलनामा सवारी ज्यानको घटना उल्लेख्य रहेको प्रसंगमा प्रनाउ केसीले यस्तो भन्नुभएको हो। प्रनाउ केसीले आँफु गत बर्षको भाद्रमा इटहरी आएर यो कात्तिक महिनासम्म इटहरी प्रहरीको कमाण्ड सम्हालुञ्जेल इटहरीबासीको अपार साथ र सहयोग पाएको बताउनुभयो।

उहाँले इटहरीबासीलाई सुरक्षाको प्रत्याभुति दिलाउन इटहरी प्रहरी भएको आँफुले ठानेको भन्दै साथ र सहयोगका लागि सबैलाई धन्यबाद दिनुभयो।

प्रनाउ केसीले इटहरीमा लागुऔषध कारोबार एवं सेवनकर्ताहरु प्रशस्त भेटिएको भन्दै आफ्नो कार्यकालमा ३सय ५० ग्राम भन्दा बढि ब्राउनसुगरसहित मानिसहरुलाई नियन्त्रणमा लिएको बताउनुभयो।

यस्तै आफ्नो कार्यकालमा भएका कर्तब्य ज्यानका घटनामा संलग्नहरुलाई तुरुन्तै समातेरर कारबाहीको दायरामा ल्याईएको बताउनुभयो। यस्तै इटहरीमा ब्लाक गोल्डको नाममा परिचित अलैँची ठगिको एउटा घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरेर ठगिमा संलग्नहरु सबैजनालाई कारबाहीको दायरामा ल्याईएको बताउनुभयो।