इटहरी/ सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५मा बाबुले तेजाव प्रहार गर्दा छोरा र छोरी घाईते भएका छन्। स्थानीय मोहन बराईलीले २५ बर्षीय छोरा र १६बर्षीया छोरीलाई तेजाव प्रहार गरेका हुन्।

घरायसी बिवादका क्रममा ५० बर्षीय मोहनले २५ बर्षीय छोरा सुरज र १६बर्षीया छोरीलाई एसिड प्रहार गरेका हुन्। मादक पर्दाथ सेवन गरेर घर आएका मोहनले घरायसी बिवादका क्रममा छोराछोरीलाई तेजाव हानेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले पूर्वीखबरलाई जानकारी दिनुभयो,

सोलुदुधकुण्ड ५ मा नै मोहन सुनचाँदी पसल सञ्चालन गर्दै आएका मोहनले सुनका गरगहना बनाउन प्रयोग हुने तेजाव(एसिड) प्रहार गरेको सुचना अधिकृत ढकालले बताउनुभयो।

तेजाव(एसिड) प्रहारबाट सुरजको घाँटी र दाहिने हातमा डढेको छ भने मोहनकी १६ बर्षीया छोरीको दाहिने हात र दाहिने खुट्टामा डढेको छ। एसिड आक्रमणमा परेका सुरजको बहिनीको तुलनामा अलि बढि चोट रहेको सुचना अधिकृत प्रहरी निरीक्षक ढकालले बताउनुभयो।

गएराति पौने ९बजे मोहनले उनिहरुमाथी एसिड प्रहार गरेका हुन्। घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेर मोहनलाई नियन्त्रणमा लिएको र सुरज र उनकी बहिनीलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाएको प्रनि ढकालले बताउनुभयो।

एसिड आक्रमणबाट घाईते भएका सुरज र उनकी बहिनीलाई थप उपचारका लागि काठमाण्डौ पठाएको र घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनुभएको छ।