इटहरी/ नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु निर्वाचित भएका छन्। मंगलबार भएको दोश्रो चरणको मतदानबाट लिम्बु सभापतिमा निर्वाचित भएका हुन्।

दोश्रो चरणको निर्वाचनमा लिम्बुले १ हजार ९सय ६ मत प्राप्त गर्दा सभापतिका अर्का प्रत्यासी दिलिप गच्छदारले १ हजार ४ सय २२ मत प्राप्त गरेका छन्। लिम्बु र गच्छदार बीचको मतान्तर ४ सय ८४ हो ।

आइतबार पौडेल–कोइराला पक्षका लिम्बु, देउवा पक्षका गच्छदार र कृष्ण सिटौला पक्षबाट यसअघिको मोरङ सचिव रहेका यदु बिष्ट बीच प्रतिष्पर्धा भएको थियो । आईतबार भएको निर्वाचनको पहिलो चरणमा तीनमध्ये कुनैपनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि सभापतिका लागि मंगलबार पुनः मतदान भएको हो।

कोइराला पक्षका लिम्बु, देउवा पक्षका गच्छदार मात्रै दोश्रो चरणमा प्रतिष्पर्धामा गएका थिए। पहिलो चरणको निर्वाचनमा लिम्बुले एक हजार पाँचसय ४४ मत पाएका थिए भने गच्छदारले एक हजार एक सय ६६ र यदुकुमार बिष्टले पाँच सय ६३ मत पाएका थिए।

दोश्रो चरणको मतदानअघि मोरङ कांग्रेसको समिकरणमा फेरबदल देखिएको थियो। देउवा पक्षका उम्मेद्वारलाई सिटौला पक्षले सघाउने घोषणा गरेपछि मोरङमा आफू बलियो बनेको देउवा पक्षले प्रचार गरेको थियो। कोइरालालाई जिल्लामै कमजोर बनाउने लक्ष्यसहित देउवा–सिटौला गठबन्धन बनेपनि उनीहरु सफल भएनन्।

आफू बलियो भएको देउवा पक्षको दाबीलाई गलत सावित गर्दै पौडेल पक्षका लिम्बुले ४ सय ८४ मतान्तरले बिजयी भएका छन्।

लिम्बुलाई शेखर कोइरालाको समर्थन थियो भने गच्छदारलाई कांग्रेस सभापति एवं बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन थियो। सभापतिमा निर्वाचित लिम्बुलाई नेता महेश आचार्य र रक्षामन्त्री मिनेन्द्र रिजालको पनि समर्थन थियो।

केन्द्रमा बनेको शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौलाबीचको नयाँ समिकरण मोरङमा पनि लागू भएको थियो। मोरङ कांग्रेसको चुनावकै शिलशिलामा नेता सिटौला दुईदिन बिराटनगरमा बसेर देउवा पक्षसँग मिलेका थिए।