इटहरी/ नेपाली कांग्रेस प्रदेश एकको सभापतिमा देउवा–सिटौला समुहका उद्वव थापा निर्वाचित हुनुभएको छ। गएराति सार्वजनिक भएको मतपरिणाम अनुसार थापा प्रदेश एकको सभापतिमा निर्वाचित हुनुभएको हो।

१४औं महाधिवेशन अन्तर्गत प्रदेश १को नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा शेरबहादुर देउवा–कृष्ण सिटौला समुहका उद्वव थापाले पौडेल–कोईराला समुहका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो। सभापतिमा निर्वाचित थापाले ८ सय ४४ मत ल्याएर निर्वाचित हुँदा सभापतिका प्रत्यासी नेबिसंघका पूर्व सभापति गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गर्नुभयो।

यस्तै उपसभापतिमा राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझि ८ सय ८० मतका साथ र टंकप्रसाद राई ८ सय ४७ मतका साथ निर्वाचित भएका छन्। यसैगरी उपसभापतिका प्रत्यासी गोबिन्द प्रसाद ढुंगानाले ७ सय ६५ मत र बिश्वनाथ रिजालले ६सय ६८मत प्राप्त गरेका छन्।

यस्तै प्रदेश एकको महामन्त्रीमा उमेश थापा ८ सय २३ मत ल्याएर बिजयी हुँदा भुपेन्द्र राईले ८ सय २४ मत ल्याएर बिजयी भएका छन्। यस्तै महामन्त्रीका प्रत्यासी पदम सुन्दर पालुङ्गवाले ८ सय ७ मत प्राप्त गर्नुभएको छ भने महामन्त्रीका अर्का प्रत्यासी दिपन कुमार श्रेष्ठले ७ सय ६४मत प्राप्त गर्नुभएको छ।

यस्तै महिला सह–महामन्त्रीमा प्रमिला गच्छदार ८ सय ३७ मतका साथ बिजयी हुँदा महिला सह महामन्त्रीकी प्रत्यासी सीता कार्कीले ७सय ६३मत प्राप्त गरेकी छन्।

यस्तै सह–महामन्त्रीमा नै मोरङ्गको उर्लाबारीका मेयर खड्ग फागो १ हजार २६ मतका साथ बिजयी भएका छन्। यस्तै सहमहामन्त्रीमा नै बिनोद कुमार बस्नेत ७ सय ४७ मतका साथ बिजयी भएका छन्। यसैगरी सहमहामन्त्रीका उम्मेद्वार रोहित कुमार शाहले ६सय ६५मत र विरकाजी राईले ६ सय ४७ मत अनि शुभचन्द्र राईले ८४ मत प्राप्त गरेका छन्।