इटहरी/ देशकै दोश्रो ठुलो पार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार(भोली) देखि काठमाण्डौको भृकुटीमण्डपमा शुरु हुँदैछ । नेतृत्व चयनका लागि शनिबार (पर्सी) उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

महाधिवेशनमा भाग लिने ४ हजार ७ सय जना भन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३१९ जनाको नाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ । महाधिवेशन व्यवस्थित तरिकाले सम्पन्न गर्न गठित बिभिन्न उपसमिति आ–आफ्नो जिम्मेवारीका साथ काम गरिरहेका छन्।

शीर्ष नेताहरु नेतृत्व दाबी गर्दै प्यानल निर्माणको गृहकार्यमा छन् । गुट–उपगुटमा रहेपनि प्यानलमा पर्ने रणनीतिका साथ नेताहरुको बिभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

महाधिवेशनको अन्तिम तयारीमा रहेकाले देशभरबाट कांग्रेस नेताहरु राजधानी आउने क्रम जारी छ । नीतिभन्दा पनि बढी नेतृत्वमा जोड दिँदै आएका कांग्रेसका शीर्ष नेताहरुको बुधबार दिनभरको दौडधूप नेतृत्वकै बिषयमा केन्द्रित रहेको थियो।

गुट–उपगुटमा बिभाजित कांग्रेस नेताहरु महाधिवेशनमा कसरी जित्ने भन्ने ध्याउन्नमै दौडधूप गरिरहेका छन् ।