काठमाण्डौ/ बिवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार(आज) बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गरेको हो।

पार्टीद्वारा जारी प्रेश बिज्ञप्तीमा पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको जनाईएको छ। बिज्ञप्तीमा विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका पाण्डेले पार्टीलाई गम्भीर क्षति पु¥याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरु बिपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पाण्डेसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण माग गरिएको जनाईएको छ।

पार्टीले दिएको समय सीमाभन्दा एकदिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक पाण्डेको स्पष्टीकरणमा सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिले ठहर गरेको छ।

पाण्डेले उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिएको बिज्ञप्तीमा उल्लेख छ।

बिज्ञप्तीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको जनाईएको छ।

बिज्ञप्तीमा पाण्डेले प्रयोग गर्दै आएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनैपनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी गराइन्छ भनिएको छ। Letter ref. 503