काठमाण्डौ/ बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाउँदै गरेको बिवेकशील साझा पार्टीले पुष २७ गतेदेखि ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ शुरु गर्ने भएको छ। पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर यो कार्यक्रम गर्न लागेको हो।

कञ्चनपुरबाट पुष २७ गते शुरु गरिने यात्रा सहिद दिवसको दिन माघ १६ गते झापामा आएर अन्त्य हुने पार्टीको हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निर्णय गरेको हो। यात्राको बिस्तृत विवरण पछि प्रकाशित गरिने पार्टीले जनाएको छ।

नागरिकका आ–आफ्ना बैचारिक दृष्टिकोण भएपनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्धन गर्न, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, बिकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउन, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउन र जातीय, क्षेत्रीय तथा धार्मिक रुपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउन राष्ट्रिय एकता यात्राको मूल उद्देश्य रहेको पार्टीद्वारा प्रेशित बिज्ञप्तीमा उल्लेख छ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले “देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षै गर्न नसक्ने स्थितिमा हामी पुगेकोले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुप¥यो। सो भावना प्रवर्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन सक्दैनथ्यो ” भनेका छन्।

पार्टीले आफ्ना सबै नेता, सदस्य र शुभेच्छुकहरूलाई पार्टीको यो बिशेष यात्रामा साथ दिन अनुरोध गर्दछ भनेर पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा प्रेशित बिज्ञप्तीमा उल्लेख छ।