सुनसरी/ प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न लागि परिरहेको बताउनुभएको छ। धरान दिवस २०७८मा सहभागी हुन मंगलबार धरान आउनुभएका प्रधानमन्त्री देउवामले त्यसो भन्नुभएको हो।

प्रधानमन्त्री देउवाले प्र्रतिष्ठान सुधारमा आफू गम्भीर रहेको बताउनुभयो। धरान डेमा करिब २ मिनेट सम्बोधन गर्नुभएका प्रधानमन्त्री देउवाले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागि पर्ने बचनसमेत दिनुभएको छ।

उहाँले धरानमा रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पीठको उल्लेख्य सुधारको पक्षमा सरकार रहेको बताउनुभयो।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले पार्टीलाई एक ढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो। उहाँले देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुने बताउनुभयो। उहाँले पार्टीमा एकता भए मात्र सरकार पनि बलियो हुने बताउनुभयो।

धरानका मेयरले राम्रो काम गरेको बताउँदै उहाँले धरानबाट कम्युनिष्टको गढ भत्किन शुरु भएको दावी गर्नुभयो। अव पनि धरानमा कांग्रेसलाई जिताउनका लागि आग्रह गर्दै देउवाले भन्नुभयो, ‘धरानमा कांग्रेसले कहिल्यै जित्दैन भन्ने थियो, हाम्रो मेयरले जितिसक्नुभयो । अब पार्टी एकताको शुरुवात पनि धरानबाट हुनेछ भन्ने बिश्वास लिएको छु।’

सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल आफ्नो अन्तिम भएको भन्दै पार्टीलाई एक बनाउने दायित्व आफ्नो भएको पनि बताउनुभयो। देउवाले भन्नुभयो, ‘सबैको सहयोग बिना पार्टी एक हुन सक्दैन। एक बनाउने दायित्व मेरो हो, र स्वार्थ पनि त्यही हो।’

उहाँले नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटनसमेत गर्नुभएको छ। त्यस्तै फोहोर मैला प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएका देउवाले बसपार्कको अवलोकन गर्नुभएको छ।

गत पुष १४ गते बसेको कार्यपालिका बैठकले पुस २० गते ‘धरान डे’को अवसरमा धरान क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। धरान स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाले मंगलबार सार्वजनिक बिदासमेत दिएको थियो।

धरानमा पुष २०गतेदेखि २३गते तीन दिनसम्म धरान डे मनाउने निर्णय गरेको छ। धरान आधुनिक शहरको जग बि.सं.१९५७ सालमा शुरु भएको बताइन्छ । सोही अवसरमा तत्कालीन धरान नगरपालिकाले २०५७ सालमा शतबार्षिकी महोत्सव गरेको थियो।

त्यसपछि धरानमा पुष २० गतेलाई धरान स्थापना भएको मानकको रुपमा लिएर धरान डे मनाउँदै आएको छ। पुस २० गते आधुनिक धरान शहर स्थापनाको १२१औं बर्ष पुग्दैछ ।

-न्युज कारखाना