सुनसरी/ सुनसरीमा २२ हजार ६९३ नयाँ मतदाता थपिएका छन्। स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले सञ्चालन गरेको बिशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन्।

थपिएका कुल संख्यामध्ये महिला ११ हजार ४३२ र पुरुष ११ हजार २६० छन्। दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखी १९ पुससम्म सञ्चालन भएको जिल्ला निर्वाचन आयोग सुनसरीले जनाएको छ। पहिलो चरणको १७ मंसिरदेखी २ पुषसम्मको बिशेष कार्यक्रमअन्तर्गत १० हजार ३२४ जना मतदाता थपिएका हुन्।

थपिएकामध्ये इटहरी उपमहानगरपालिकामा तीन हजार ६सय ६२जना, रामधुनी नगरपालिकामा एक हजार ६सय ६५जना, देवानगञ्ज गाउँपालिकामा ६सय ६५जना, बर्जु गाउँपालिकामा ७सय ८१जना र भोक्राहानरसिंह गाउँपालिकामा एक हजार १सय ५० जना गरी कुल सात हजार ९२३ छन्। पहिलो चरण अन्तर्गतनै बिशेष अभियान चलिरहेको समयमा प्रशासन कार्यालयहरुमा दुई हजार ४सय १ जनाले नामावली दर्ता गराएका छन्।

त्यस्तै १– १९ पुषसम्म भएको दोस्रो चरणमा १२ हजार ३ सय ६९ जनाले नामावली दर्ता गराएका छन्। दोस्रो चरणमा भएका जिल्लाका स्थानीय तह दुहवी नगरपालिकामा एक हजार ५सय९०जना, बराहक्षेत्र नगरपालिकामा दुई हजार १सय ५९जना, कोशी गाउँपालिकामा एक हजार ३सय ८३ जना र गढी गाउँपालिकामा एक हजार ४सय २८जनाले नामावली दर्ता गराएका हुन्।

दोश्रो चरणको समयअवधिमा बिभिन्न प्रशासन कार्यालयमार्फत पाँच हजार ८सय ९ जनाले नामावली दर्ता गराएका थिए। सुनसरीमा १२वटा स्थानीय तह र ४ वटा निर्वाचन क्षेत्र छन्।
-न्युज कारखाना