पथरी/ मोरङको पथरीमा आमाको नाममा रहेको सम्पती हडप्न छोराले आमाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका २ जयचोकका ४८बर्षीय कमल श्रेष्ठले सम्पतीकै लागि आमाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा र अरु दाजुहरुलाई थाहै नदिई श्रीमतीको नाममा पास गरेका थिए । बुवाको मृत्युपछि कमलले आमाको नाममा जग्गा पास गराउने भनेका थिए।

तर, आमालाई झुक्याएर कमलले श्रीमतीको नाममा जग्गा पास गराएका थिए। त्यसबारे आमा र अरु दाईहरुलाई जानकारी भएपछि अदालतमा मुद्दा परेको थियो। मुद्दापछि अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहनेगरी फैसला गरेको थियो। बाँकी रहेको १० कट्ठा ९ धुर जग्गा पनि दाइहरुलाई आमाले दिनसक्ने भएकोले आमाको हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पथरीले ९०बर्षिया जगमाया श्रेष्ठको हत्या गरेको आरोपमा कमललाई पक्राउ गरिसकेको छ। हत्या आरोपमा पक्राउ परेका कमल जगमायाका चार भाई छोरा मध्य कान्छा छोरा हुन्।

कान्छा छोरासँग बस्दै आएकी जगमायाको कमलले माघ १२गते बिहान ३ बजे घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पथरीका प्रहरी नायव उपरीक्षक(डिएसपी) कृष्ण खड्काले जानकारी दिनुभयो।

आमाको हत्या गरेको पाँच दिनपछि सोमबार कमल पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा कमलले आमाको शव त्रिपालमा पोको पारेर जलाएको खुलेको छ।

हेर्नुहोस यो भिडियो सामाग्री :