काठमाण्डौ/ सरकारले दोहोरो चरित्र देखाएको भन्दै संघीय राजधानी काठमाण्डौ सहित देशभरका भूमिहिन सुकुम्बासी आन्दोलित भएका छन्। उनिहरुले काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका ८गोठाटारस्थित सुकुम्बासी बस्तीबाट आन्दोलनको सुरुवात गरेका हुन्।

उनिहरुले राज्यको एउटा मन्त्रालय सुकुम्बासीलाई लालपुर्जा दिने भन्दै सूचना प्रकाशन गर्ने र अर्को मन्त्रालय बिकल्प बिनै सुकुम्बासी उठिबासको सूचना टाँस्ने गरेको भन्दै राज्यले दोहोरो चरीत्र देखाई सुकुम्बासी उठिबासमा राज्य लागेको भन्दै आन्दोलनको सुरुवात गरेको उद्घोष गरेका छन्।

उनिहरुले बसोबासका आधारमा लालपुर्जा बितरण तथा बिना बिकल्प उठिबास सदाको लागी बन्द गर्न गराउने उदेश्यले आन्दोलनको घोषणा गरेको सुकुम्बासी मोर्चाका नेताहरूले बताएका छन्।

सुकुम्बासी बस्ती बचाउ आन्दोलनको उद्घाटन कार्यक्रममा सुकुम्बासी नेताले आफ्नो अधिकार सुनिश्चित नगराए काठमाडौंमा लाखौं सुकुम्बासी उतार्ने मोर्चाले तयारी गर्नुपर्ने र निर्वाचन अघि सुकुम्बासीलाई लालपुर्जासहितको भुमी उपलब्ध गराउने, यदि निर्वाचन अघि भुमीसहितको लालपुर्जा आफुहरुले नपाए देशैभरका ७० लाख सुकुम्बासीका ४० मतदाताले मत नदिने रणनीति अपनाउदै गरेको समेत कार्यक्रमका बक्ताहरु जिकिर गरेका छन्।

सुकुम्वासी अव्यवस्थित बसोबासका अधिकारकर्मीले सरकारका मन्त्री र पार्टीका शिर्ष नेतालाई यस अघि नै भेटेर ध्यानाकर्षण गराइसकेका छन्। उनिहरुले देशभरका ७० लाख सुकुम्वासीको हक अधिकार सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण गराएका हुन्। उनिहरुले फास्ट ट्य्राकबाट लालपुर्जा बितरण गर्न मागपत्र समेत प्रस्तुत गरेका छन्।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले यसअघि काठमाण्डौ उपत्यकामा भुमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको हकअधिकार सुनिश्चित गर्न भन्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई,पार्टी अध्यक्ष उपेन्द्र यादव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य, सहरी बिकास मन्त्री रामकुमारी झाँक्री एवं सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई चारबुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाइसकेको छ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बसोबासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्प बिनाको उठिबास सदाका लागि बन्द हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम अघि सारेको छ।

कार्यक्रममा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका सँस्थापक सल्लाहकार हुकुम बहादुर लामा, सह-अध्यक्ष नारायण परिश्रमी, टीकाराम गुरुङ, राजकुमार पाण्डे, स्मिता आचार्य, रमेश तामाङ, दलमर्दन कामी, झवरलाल उराँवलगायतका अधिकारकर्मिको सहभागिता थियो।