केराबारी/ मोरङ्गको केराबारीस्थित हजार बिघा सामुदायिक बन क्षेत्रमा मृत फेला परेका केराबारी ८ का २६ बर्षीय बाबुराम भट्टराईको हत्या अभियोगमा पक्राउ परेका ब्यक्तिलाई मोरङ्ग प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले केराबारी ३ रामपुरका ३४ बर्षीय कमल लिम्बुलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

लिम्बुले प्रहरीसँगको बयानका क्रममा पुष २८ गते राती सँगै मादक पदार्थ सेवन गरेका भट्टराईलाई रड प्रहार गरेर हत्या गरि रुखको जराभित्र शव लुकाएको स्वीकार गरेका छन्।

उनिहरु दुवैजनाले पुष २८ राती सँगै मादक पदार्थ सेवन गरेका थिए। मादक पदार्थ सेवन गरेका उनिहरुबीच बिवाद भएको र बिवादका क्रममा लिम्बुले भट्टराईको टाउकोमा रड प्रहार गरेका थिए। रड प्रहारबाट भट्टराईको घटनास्थलमै ज्यान गएको थियो। भट्टराईको ज्यान गएपछि अताल्लिएका लिम्बुले एक्लै बोकेर भट्टराईको शवलाई स्थानीय हजारबिघा सामुदायिक बनमा ढलिरहेको रुखको जराभित्र लगेर ब्यवस्थापन गरेका थिए।

उनको हत्या भएको ९दिनपछि घाँस दाउरा गर्न जंगल गएका स्थानीयले दुर्गन्ध फैलिएको पाएपछि के रहेछ भने हेर्दा मानिसको शव भन्ने यकिन गरेर प्रहरीलाई खबर गरेका थिए।

11111 1
भट्टराईको हत्या गर्न प्रयोग भएको रड एवं हत्याको समयमा लिम्बुले लगाएको पेन्ट, तस्विर सौजन्य :नेपाल प्रहरी

प्रहरीको अनुसन्धान टोलीले लिम्बुलाई यस अघिपनि अनुसन्धानको लागि नियन्त्रणमा लिएको र प्रमाण अपुग भएका कारण छाडेर निगरानीमा राखेको थियो। प्रहरीले हत्यामा प्रयोग भएको रड र रगत लतपतिएको कपडासमेत बरामद गरेपछि लिम्बुलाई पक्राउ गरेको मोरङ्ग प्रहरीले जनाएको छ।

भट्टराईलाई उनका नजिकैका साथी केराबारी–भोगटेनी–रामपुरको रुटमा चल्ने यात्रुवाहक ल्याण्डरोभरका सहचालक केराबारी ३ रामपुरका कमलले रड प्रहार गरेर हत्या गरेको खुल्न आएको छ। मृतक भट्टराई पनि सोहि रुटमा चल्ने ल्याण्डरोभरका सहचालक थिए।

कमललाई प्रदेश नम्बर १प्रहरीको बिषेश अनुसन्धान समुह(आरआईटी), जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त अनुसन्धान टोलीले पक्राउ गरेको हो।

केराबारी ८ स्थित हजारबिघाका भट्टराई गत पौष २७ गतेदेखि बेपत्ता भएका थिए। उनको शव माघ ९ गते स्थानीय हजारबिघा सामुदायीक बन क्षेत्रको ढलेको एक रुखको जरामा सडिएको अवस्थामा फेला परेको थियो।

शव सडेको अवस्थामा रहेको पाईएपछि पहिचानमा समस्या भएको थियो। शवलाई परिवारका सदस्यले कपडाका आधारमा पहिचान गरेका थिए। प्रहरीले तत्कालिन समयमा शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको थियो।

र यो पनि : केराबारीको जंगलमा भेटियो पुरुषको शव