विराटनगर/ मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को आईतबारको दोश्रो खेल जहदा–५ ले जितेको छ। जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–५ ले जहदा–१ को टीमलाई पराजित गरेको हो ।

लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्रिकेट टुर्नामेन्टको आईतबार भएको दोश्रो खेलमा जहदा–५ ले जहदा–१ लाई ८ विकेटले पराजित गरेको हो । आईतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको जहदा–१ ले १८ औं ओभरमा सबै विकेट गुमाउँदै १३२ रनको स्कोर खडा गरेको थियो । जहदा–१ का लागि खेलाडी रञ्जित राजवंशीले सर्र्वाधिक २२ बलमा २७ रनको योगदान दिएका थिए । २ छक्का र २ चौका प्रहार गरि १४ बलमा विद्यानन्द साहले २१ र आशिष राजवंशीले २२ रन जोडेका थिए । विद्यानन्द साहले १ विकेट समेत लिएका थिए। Jahada Cricket

१३३ रनको लक्ष्य पाएको जहदा–५ ले १३ औं ओभरको प्रगतिमै खेल जितेको थियो । खेलका ‘म्यान अफ द म्याच’ सरोज महत्तोले अविजित ८ छक्का र ४ चौका प्रहार गर्दै ७२ रन बनाउँदा रबिन मण्डलले ४३ रनको योगदान दिएका थिए । रबिनले ६ छक्का र १ चौका प्रहार गरेका थिए । जहदा–५ का लागि बुधन महत्तोले ३ विकेट लिँदा राकेश साहले २, मोहम्मद निजामुद्दीन २, आर्यन साहले २ र विकास ठाकुरले १ विकेट लिएका थिए ।

लिगकम नकआउटको आधारमा बैशाख ३ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टको तेश्रो खेल चैत्र २८ गते सोमबार जहदा–२ र जहदा–३ बिच हुने आयोजक संस्थाले जनाएको छ । संस्थाका अनुसार जहदामा जारी टुर्नामेन्टमा आयोजक लक्ष्मिनिया युवा क्लबका साथै गाउँपालिकाका ७ वटै वडाको सहभागिता रहेको छ । टुर्नामेन्टको फाईनल खेल बैशाख ३ गते हुनेछ ।

खेलको विजेता तथा उप–विजेताले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँको नगद पुरस्कार सहित मेडल, प्रमाण–पत्र र रनिङ शिल्ड प्राप्त गर्नेछन्।