बिराटनगर/ नेपाल प्रहरीको इमान्दार अनि क्षमतावान अधिकृतमा चर्चित प्रहरी नायव उपरीक्षक (डिएसपी) मञ्जिल मुकारुङ जिल्ला प्रहरी कार्यालय मोरङ्गको कार्यभार सम्हालेर बिदा भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङ्गमा १३ महिने कार्यकाल सकेर मुकारुङ शुक्रबार बिदा भएका हुन्।

मुकारुङ मोरङ्गमा रहँदा थुप्रै घटनाहरु भए, ती घटनाको मोरङ्ग प्रहरीले सफल अनुसन्धान गरेको छ भने केहिको अनुसन्धान जारी छ। यहाँ यस्ता तीनवटा घटना उल्लेख छन्। जुन घटनाको सफल अनुसन्धान भएर टुंगो लागिसकेको छ। अनि घटनामा संलग्न कारबाहिको दायरामा आईसकेका छन्। यि घटनाको टुंगो लगाएका मुकारुङलाई मोरङ्गबासीले कहिल्यै भुल्ने छैनन्।

१) उखुवारी घटना : मोरङ्गको चर्चित घटना हो उखुबारी घटना, मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा गत माघ १२ र १३ गते दुईवटा शव भेटिएको थियो। प्रहरीले माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाण्डौमा बस्दै आएका ३२ बर्षीय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ बर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव खाल्डोबाट उत्खनन गरेको थियो। चाँडो गलाउन नुनसमेत हालेर गाडिएको अवस्थामा शव भेटिएका थिए। अनुसन्धानबाट राजेन्द्रको पुष ३ गते र शम्भुको पुष ७ गते हत्या भएको खुलेको थियो।

त्यसअघि नै उनीहरुका व्यावसायिक साझेदार तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाण्डौ महानगरपालिका–८ गोठाटार बस्दै आएका ६३बर्षीय मोहन लिम्बूको हत्या भईसकेको थियो।

लिम्बुको शव प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्डमा खाल्डो खनी सिमेन्ट प्लाष्टर गरेर गाडेको अवस्थामा माघ २० गते उत्खनन गरेको थियो। मंसिर २८गते हत्या गरेर करिव साढे ४ फिट गहिरो खाल्डोभित्र गाडिएको मोहनको शव उत्खनन गर्न मोरङबाट प्रनाउ मुकारुङ आफै ललितपुर पुगेका थिए।

तीनैजनाको हत्या व्यावसायिक साझेदार सिरहाको सिरहा नगरपालिका–२१ घर भई काठमाण्डौ बल्खुमा बस्दै आएका ३१बर्षीय अनिलकुमार मण्डलको योजनामा भएको थियो। मण्डलको योजनामा ९दिनको अवधिमा ३ जना साझेदारको हत्या भएको थियो।

अनिलसहित हत्यामा संलग्न मोरङको जहदा गाउँपालिका–४ का २९बर्षीय अमित साह भनिने दिनानाथ सोनार, धनपालथान–७ का ६२बर्षीय नासिर आलम, रंगेली नगरपालिका–३ का ३३बर्षीय मोहमद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का १८बर्षीय मोहमद हकिम पक्राउ परेका थिए।

२) बिराटचोकस्थित सुनपसलको लुटपाट प्रयासको घटना : गत श्रावणमा मोरङ्गको बिराट चोकस्थित शिव पाञ्चायन ज्वेलर्समा आधुनिक हतियारसहित आएको लुटेरा समुहको लुटपाटको असफल प्रयासको घटनामा प्रनाउ मुकारुङको नेतृत्वमा सफल अनुसन्धान भएको थियो।

घटनाको भएको १२औँ दिनमा प्रनाउ मुकारुङ नेतृत्वको अनुसन्धान टोलीले अत्याधुनिक हतियार एसएमजी र अटोमेटिक पेस्तोलसहित सबैजना पक्राउ गर्न सफल भएको थियो। घटनाको सफल अनुसन्धान गरेको भन्दै अनसुन्धान टोलिलाई सुन्दरहरैँचा नगरपालिकाले सम्मान समेत गरेको थियो।

३) १८महिने बालिकाको बलात्कारपछि हत्या : मोरङ्गमा भएको चौथो चर्चित अनि सबैको मन रुने घटना हो। १८ महिने बालिकाको बलात्कार पछि हत्याको घटना । गत फागुन २७ गते मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गणेशपुरमा १८ महिने बालिका करिश्मा मण्डलको बलात्कारपछि हत्या भयो। घटनामा संलग्न सुन्दरहरैंचा–७ ठडियाका २८बर्षीय मिथुन चौधरी र उनका सहोदर भाई २५बर्षीय अजय चौधरीलाई २४ घण्टा नबित्दै मुकारुङ नेतृत्वकै अनसन्धान टोलिले पक्राउ गरेको थियो।

यस्ता घटनाको सफल अनुसन्धान गरेर मोरङ्गबासीको मनमा बसेर प्रनाउ मुकारुङ जिल्ला प्रहरी कार्यालय मोरङ्गबाट शुक्रबार बिदा भएका छन्। यो जिम्मेवारी सम्हाल्न प्रहरी नायव उपरीक्षक राजन कार्की आउँदैछन्।