सुनसरी/ सुनसरीको इटहरीमा नेकपा (एमाले)बाट मेयर पदमा उम्मेद्वारी दिनुभएका यामकुमार सुब्बाले इटहरीलाई ‘ई-टहरी’ बनाउने घोषणा गर्नुभएको छ। इटहरीमा भएको चुनावी कार्यक्रममा सुब्बाले त्यसो भन्नुभएको हो।

आफूले इटहरीमा मेयरको पद सम्हालेपछि इटहरीलाई ‘ई–टहरी’ बनाउने भन्दै उहाँले त्यसका लागि आवश्यक पूर्वाधार र जनशक्तीको व्यवस्थापनका बिषयमा पनि आफूले ध्यान केन्द्रित गरिसकेको जानकारी दिनुभयो।

यसका साथै उपलब्ध मानव संसाधनलाई अभ्यस्त र शिपयुक्त बनाउन आवश्यक रहेको बताउँदै उहाँले आफू त्यसका लागि तत्पर रहेको जानकारी दिनुभयो । उपमहानगरलाई मात्रै नभएर यसका मातहतमा रहेका वडा कार्यालय र अन्य संस्थालाई ‘ई–टहरी’मा रुपान्तरण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

के हो ‘ई-टहरी’ ?
‘ई–टहरी’ भनेको के हो भनेर धेरैमा जिज्ञासा पैदा हुन सक्छ । मेयरका उम्मेद्वार सुब्बाले भन्नुभएको ‘ई–टहरी’ भनेको ‘डिजिटल इटहरी’ हो। इटहरीलाई प्रविधिमैत्री वनाउने भनिएको हो। जहाँ हरेक काम ‘डिजिटल्ली’ हुने गर्दछ। उप–महानगरपालिकाले दिने हरेक सेवा सकेसम्म इन्टरनेटबाट नै प्रदान गर्ने उहाँको भनाइ छ। घरैमा वसि वसि नगरपालिकाको काम गर्न सकिने बनाइने मेयरपदका उम्मेद्वार सुब्बाले वताउनुभयो।