केराबारी/ मोरङ्गको केराबारीमा नेकपा एमाले देखि मंगोल नेश्नल अर्गनाईजेसन सम्मका राजनीतिक दलहरुले गाउँपालिकामा उम्मेद्वारी दिएका छन्। कोहि आफ्ना उम्मेद्वार जिताउन चुनावी एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन् त कोहि अर्को राजनीतिक दललाई हराउन मात्रै उम्मेद्वारी दिएको भन्दैछन्।

यसैबीच नेकपा एमाले केराबारीले केराबारीको समग्र स्वास्थ्यक्षेत्रको सुधार अनि बिकासका लागि आफ्नो प्रतिबद्दता पत्र सार्वजनिक गरेको छ। उसले केराबारीबासी स्वस्थ्य भए मात्र समृद्द केराबारी बन्ने मान्यता अघि सारेको छ।
नेकपा एमाले केराबारीले अघि सारेका स्वास्थ्य सम्बन्धि प्रतिबद्दताहरु :
१) निर्माणधीन १५शैयाको पालिका अस्पताललाई ५बर्षमा भौतिक रुपमा सुविधा सम्पन्न २५शैयाको अस्पतालको रुपमा परिणत गरिनेछ। जसमा आवश्यक जनशक्तियूक्त चिकित्सक तथा प्राविधिक र उपकरणको व्यवस्थापन गर्दै विशेषज्ञ स्वास्थ्य सेवा, प्राकृतिक उपचार पद्धतीलगायत मनोपरामर्श सेवा समेत सञ्चालन गरिने छ।

२) पालिका अस्पतालको लागि एक सुविधायुक्त अत्याधुनिक एम्बुलेन्स खरिद गरि सेवा प्रदान गरिनेछ, सो सेवा बिपन्न, गरिव र असहायहरुका लागि निशुल्क रुपमा प्रदान गरिनेछ।

३) ‘जनताको दुःखमा जनप्रतिनिधि’ भन्ने नाराको मर्म अनुसार पालिका अस्पतालमा एक शववाहन व्यवस्थापन गरि जनतालाई सेवा प्रदान गरिनेछ।

४) समुदायमा हुने आगलागी नियन्त्रण गर्दे जनधनको क्षतिलाई न्युनिकरण गर्नका लागि संघीय सरकार, प्रदेश सरकार तथा सहयोगी संस्थाहरुसँग समन्वय र सहकार्य गरेर लागत साझेदारी वा सहयोगमा एक बारुणयन्त्र (दमकल) सेवा सञ्चालनमा ल्याउनका लागि पहल गरिने छ।

५) ‘तपाईंको उपचार, मेरो जिम्मेबारी’ कार्यान्वयन गर्न स्वास्थ्य बिमाको कार्यक्रमलाई हरेक परिवारलाई अनिवार्य गरिनेछ । स्वास्थ्य बीमा रकम जम्मा गर्न नसक्ने अति विपन्न नागरिकलाई बीमा बापतको रकम पालिका सरकारले उपलब्ध गराइदिने ब्यवस्था मिलाइने छ ।

६) हरेक वडामा रहेका स्वास्थ संस्थाहरुको स्तरोउन्नति गरिनेछ जसमा ५ वर्ष भित्र हरेक वडामा Birthing center सेवालाई शुरुवात गरिनेछ।

७) हरेक स्वास्थ्य चौकीहरुमा निश्चित अवधिको फरकमा नियमिति, घुम्ती तथा स्वास्थ्य शिविर सञ्चालन गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइने छ । गाउँघर क्लिनिकको सेवालाई स्तरोन्नती गरी साप्ताहिक रुपमा थप सेवा समेत उपलब्ध गराइने छ।

८) केराबारी ६ कालापानीमा रहेको सर्पदंश केन्द्रलाई स्थानीय स्तरमा रहेको नेपाली सेनासँगको सहकार्य र समन्वयमा व्यवस्थित गर्दै प्रभावकारी तथा गुणस्तर सेवा प्रदान गरिनेछ।

९) पालिकाका सबै वडाहरुमा वडा स्वास्थ्य इकाईहरुको स्थापना र सञ्चालनलाई व्यवस्थित गरिने छ।