सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचास्थित धार्मिक पर्यटकीय क्षेत्र नयाँ बृन्दाबन गौशाला क्षेत्रस्थित बुढिखोलामा अवैध उत्खनन् गर्ने ४वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार अस्थाई प्रहरी पोष्ट बलियाले ति ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।

राधेश्याम सेवा ट्रष्ट सुन्दरहरैँचाका प्रमुख दिनबन्धु शाष्त्रीका अनुसार हरेक दिन निषेधित क्षेत्रमा पसेर अवैध उत्खनन् गर्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो।

प्रहरीले प्रदेश १–०२–००३त १८७२, को २ त ८२००, को २ त ३४३१ नम्बरको र को २ त ५५१९नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो। यी ट्याक्टरहरुलाई प्रहरीले नयाँ बृन्दाबन गौशाला र इटहरी जोड्ने झोलुङ्गे पुलको करिव १००मिटर उत्तरबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिईएका ट्याक्टरहरु राधेश्याम सेवा ट्रष्ट सुन्दरहरैँचाका प्रमुख दिनबन्धु शाष्त्रीको आग्रह अनुसार उप्रान्त निषेधित क्षेत्रमा पसेर उत्खनन् नगर्ने शर्तमा कागज गरेर सम्बन्धित ट्याक्टर धनिहरुलाई जिम्मा लगाईएको बलियास्थित प्रहरीले जनाएको छ।

पुलबाट पाँचसय मिटर तलमाथी खन्न प्रतिबन्ध भएपनि छेउछाउका ट्याक्टर ब्यवसायीहरु स्थानीय प्रशासनको आँखा छलेर निषेधित क्षेत्रमा उत्खनन् गर्ने गरेका छन्।