मोरङ्ग/ कोशी राजमार्ग अन्तरगत मोरङको बूढीगंगा गाउँपालिका–२ गंगा चोकमा शुक्रबार बिहान भएको दुर्घटनामा केराबारीका दुईजनाको ज्यान गएको छ। भारतीय नम्बर प्लेटको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा उनिहरुको ज्यान गएको हो।

बिराटनगरबाट इटहरी आउँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको कन्टेनरले इटहरी आउँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई बिहान पौने ७ बजेतिर ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–६का २७बर्षीय हर्क परियार र मोटरसाईकलमा सवार केराबारी ७ मुगुका २१बर्षीय भीमबहादुर राईको ज्यान गएको हो। 

मोटरसाईकलले ओभरटेक गर्ने क्रममा निर्माणाधिन सडकमा छरिएको गिट्टिमा चिप्लिएर मोटरसाईकल लडेको र सोहि समयमा आएको कन्टेनरले किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो।

घटनाको विरोधमा स्थानीयले सवारीसाधन सञ्चालनमा रोक लगाएर केहीबेर कोशी राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीको प्रयासमा सडक सुचारु भइसकेको छ। सडकको पश्चिमतर्फको भाग लगभग दुई साताअघिदेखि खनेर त्यत्तिकै छाडिएको छ। नेपाल टेलिकमको च्याम्बर व्यवस्थित गर्न सडक खनेको बुझिएको छ। खनेर त्यत्तिकै छाडिएपछि छ लेनमध्ये पश्चिमतर्फको दुई लेन सडकमा सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था छैन। दक्षिणबाट उत्तरतर्फ जाने एक लेन सडक मात्रै सञ्चालनमा छ।

सम्बन्धित निकायले सडक खनेर लामो समयदेखि त्यत्तिकै छाडिदिँदा दुर्घटना भएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्। उनीहरुले तत्काल सडकको खाल्डो पुरेर सवारीसाधन सञ्चालन सहज बनाइनुपर्ने माग राखेका छन्।

(यहि अघि दुवैजना केराबारी ६का उल्लेख भएकोमा एकजना केराबारी ६ र अर्का केराबारी ७ का रहेको हुँदा सच्याईएको छ-सम्पादक)