सुनसरी/ बदलिँदो समयसँगै ठगिको तरिका पनि बदलिँदो छ। नयाँ–नयाँ प्रविधिहरु प्रयोग गरी हुने गरेका नवीन अपराधहरु रोक्ने सुनसरी प्रहरीको बिषेश अभियान अन्तरगत फेसबुक एकाउन्ट ह्याक गरी ठगि गर्ने तीनजनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। नक्कली इ-सेवा आईडी प्रयोग गरी सर्बसाधारणहरुलाई ठगी गर्ने तीनजना पक्राउ गरेका हुन्।

सुनसरीको इटहरी २ का डिल्ली बहादुर राउतको फेसबुक अकाउन्ट ह्याक गरी गत जेठ १२ गते फेसबुकको म्यासेञ्जरमार्फत राउतका साथीहरूलाई आफू समस्यामा परेको भन्ने नक्कली म्यासेज पठाई इ-सेवामा रकम पठाउन लगाई ठगी भएको भन्ने निबेदनको आधारमा प्रहरीले गरेको बिशेष अनुसन्धानबाट भदौ १ गते प्रहरीले मेची अञ्चलको भद्रपुर नगरपालिका ६का १९ बर्षीय आशिष बिष्ट, सोहि ठाउँका १८ बर्षीय प्रविण राजवंशी र १८ बर्षकै भवेश राजवंशीलाई नियन्त्रणमा लिएको छ।

उनिहरुलाई घरमै लुकिछिपि बसिरहेको अवस्थामा भद्रपुरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकृत राजकुमार राईले पूर्वीखबरलाई जानकारी दिनुभयो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनिहरुले एक सफ्टवेयर बनाएर फेसबुक आईडिमार्फत बिभिन्न ब्यक्तिहरुलाई सौन्दर्य प्रतियोगिताहरु भोट दिनुहोस् भनि झुक्याई उनिहरुको फेसबुक अकाउन्ट ह्याक गरेर उनीहरुको फेसबुक म्यासेन्जरमार्फत नजिकका साथीभाईहरुलाई आफू बिरामी भएकोले तत्काल रकम पठाई दिनुपर्‍यो भनेर नक्कली म्यासेज पठाउने गरेको खुलेको छ।

यस्तै म्यासेजको बारे बास्तविक फेसबुक अकाउन्टवालालाई थाहा नहुने देखिएको र बिभिन्न वहाना गरी माग गरिएको रकम नक्कली इ-सेवा आईडिमा ट्रान्सफर गर्न लगाई पक्राउ परेकाहरुले खर्च गरेको खुलेको सुचना अधिकृत राईले बताउनुभयो।

पक्राउ परेकाहरुले हालसम्म २५ वटा भन्दा बढि फेसबुक अकाउन्ट ह्याक गरेर दुई लाख भन्दा बढी रकम ठगी गरेको खुल्न आएको राईले बताउनुभयो। पक्राउ परेकाहरु मध्ये कोही कम्प्युटर साईन्सको बिद्यार्थी समेत रहेको र उनिहरुले सफ्टवेयर निर्माण गरी अरुकै आईडिबाट झुक्याएर अरु धेरै सर्बसाधारणहरुलाई समेत ठगी गर्न खोजिरहेको अवस्थामा पक्राउ गरिएको सुचना अधिकृत राईले बताउनुभयो।