इटहरी/ तीजको दर ख्वाउने कार्यक्रम हिजो आज दैनिक जसो हुन्छन् । धेरैले पार्टी प्यालेस र होटलमा हल बुकिङ्ग गरेरै तीजको दर ख्वाउने कार्यक्रम गरिरहेको बेला महिला अधिकारको पक्षमा आवाज ओकलिरहेको महिला आधारशिला सुनसरीले भने इटहरीको अनाथ बाल आश्रममा तीजको दर खुवाउने कार्यक्रम गरेर उदारताको उदाहरण प्रस्तुत गरेको छ।

संस्कारसहितको संस्कति हटाऔँ सबै विकृती भन्ने नारा सहित गरिएको कार्यक्रममा महिला अधिकारका क्षेत्रमा अग्रणी भुमिका खेलिरहेका सुनसरीका विशेष गरी इटहरीका महिलाको उपस्थिती थियो। बालआश्रममा गरिएको तीजको दर खाने कार्यक्रममा प्रदेश १की उपसभामुख सरस्वती पोखरेल देखि लिएर संविधान सभा सदस्य अनिया परियार अनि इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता कुमारी चौधरी समेतको उपस्थिती थियो।

महिला आधारशिला सुनसरीकी सल्लाहकार विमला ढकाल सिवाकोटिलगायतका पदाधिकारी सम्मिलित तिजको दर खाने कार्यक्रममा अहिलेका तीजका कार्यक्रमहरु केहि मात्रामा भड्किलो भईरहेको स्वीकार गरिएको छ।

कार्यक्रममा बिशेष अतिथीको रुपमा निम्त्याइएकि संविधान सभा सदस्य तथा महिला आधारशिला सुनसरीकी सल्लाहकार अनिता परियारले महिला आधारशिला सुनसरीले गरिरहेका महिला अधिकारका कामहरुको प्रशंसा गर्नुभयो।

इटहरीको बालआश्रमकी संस्थापक एवं गीता गौतमले गरेको महान कामको प्रशंसा गर्दै परियारले तीज परम्परागत मुल्य मान्यता अनुसार बर्षभरीको दुख सुख साट्दै मनाउनुपर्ने तर ब्रत बस्दै श्रीमानको खुट्टाको पानी खाएर मात्रै श्रीमानको आयु लामो हुनेमा विश्वास नगरी श्रीमानले आफ्नो स्वास्थ्य प्रति आफैँ सचेत हुनुपर्ने बताउनुभयो।

एक महिना देखि तीजका दरखाने कार्यक्रम हुने गरेकाले दिनैपिच्छे कुन सारी लगाएर जाने भन्ने चिन्ता बढ्ने गरेको र सोहि बिषयमा श्रीमानसँग झगडा समेत हुनेगरेकाले तिजलाई भड्किलो नबनाई कसरी मनाउन सकिन्छ भने बिमर्ष गर्ने बेला आएको संविधान सभा सदस्य समेत रहनुभएकी परियारको भनाई छ।

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा महाधिवेसन प्रतिनिधि बिमला सिवाकोटिले तीज केहि मात्रामा भड्किलो हुँदै गएको भएता पनि हरेक साँझ होटलमा बसेर खानेहरुको पनि ध्यान जान जरुरी भएको बताउनुभयो। बर्षदिनमा आउने तीज माइती घर जाने र पर्वको रुपमा आएको तीजलाई आज छड्के तिलहरी नभएको भन्दै झगडा गर्ने पर्वको रुपमा बिकास भएको बताउनुभयो। अव संस्कार र संस्कती मनाउँदै सभ्य तिज मनाउनु पर्न आजको आवश्यकता भएको उहाँले औँल्याउनुभयो।

इटहरी उपमहानगर पालिकाकी उपमेयर संगीता चौधरीले तीजलाई हामीले कसरी मनाउनु पर्ने हो सोहि तरिकाले मनाउनु पर्ने र विकृती र विसंगीतलाई बेवास्ता गर्दै आफुसँग जे छ त्यहिबाट मात्रै तीज मनाउनुपर्ने बताउनुभयो।

कार्यक्रमकी प्रमुख अतिथी उपसभामुख सरस्वती पोखरेलले आश्रममा आश्रीत बालबालिकासँग तीज मनाउने कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो। संस्कार र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताउँदै उपसभामुख पोखरेलले विकृती तीजमा भएपनि सबैतिर नभएको बताउनुभयो। आमाले औँला भाँचेर कहिले तिज आउँछ भनेर बाटो हेरेर बस्नुपर्ने पर्वको रुपमा शुरु भएको बताउँदै आज धेरै संस्थाहरुले तीजको दर खाने कार्यक्रम गर्दा माइतीको छनक दिने गरेको र सबैतिर विकृती नभएपनि गहना, कपडालगायतका केहि कुरामा विकृती बढेको समेत बताउनुभयो।

कार्यक्रमको सभापतित्व गर्नुभएकी आश्रम सञ्चालक गिता गौतमले आश्रममा आएर तीज मनाइदिएकोमा आयोजकलाई धन्यवाद दिनुभयो। महिला आधारशिला सुनसरीकी अध्यक्ष शुसिला उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा कविता लिम्बुले स्वागत मन्तब्य राख्नुभएको थियो भने आश्रमका बालबालिकाले नृत्य प्रस्तुत गरेर अतिथीहरुलाई स्वागत गरेका थिए।

कार्यक्रममा अनेम संघ क्रान्तिकारीका सारदा श्रेष्ठ, पुनम थापा मगर, त्यसैगरी नेपाली कांग्रेसकी सुनसरी जिल्ला सदस्य गिता श्रेष्ठ नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष कविन्द्र केसि लगायतको उपस्थिती थियो।