इटहरी/ सुनसरीको इटहरी १२मा डेरा गरेर बस्ने सञ्जित राईले प्यासेजमा पार्किङ्ग गरेर राखेको टिभिएस कम्पनिको मोटरसाईकल भदौ १५गते चोरी भयो। डेरा बसेको घरभित्रै पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी भएपछि राईले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिए।

इटहरीबाट चोरी भएको प्रदेश १–०२–०४४ प ३३६२ नम्वरको टिभिएस कम्पनिको मोटरसाईकलको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्ग अन्तरगतको इटहरी खण्ड (इटहरी ८)मा फेला पार्‍यो।

मोटरसाईकलमा उदयपुरको त्रियुगा नगरपालिका ८का दिलु दनुवार सवार थिए। हराएको मोटरसाईकल चालकसहित फेला पारेपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। मोटरसाईकलसहित पक्राउ परेका दनुवारलाई सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको इटहरी प्रहरी प्रवक्ता भिम खड्काले जानकारी दिनुभयो।