केराबारी/ मोरङ्गको केराबारी गाउँपालिका ८(साबिक केराबारी–५आमजुँगी)का अशोक भनिने गिरिजा बस्नेत पक्राउ परेका छन्। २०७१ सालमा बिद्यालयबाट फर्किँदै गरेकी छात्रालाई बलात्कार गरेर फरार भएका बस्नेत बुधबार पक्राउ परेका हुन्।

जिल्ला अदालत मोरङ्गको २०७२ चैत्र ३ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा १३ बर्ष कैद सजाय ठहर भई फरार रहेका ३१ बर्षीय बस्नेतलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका बस्नेतलाई जिल्ला अदालत मोरङ्गमार्फत मोरङ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) दिपक श्रेष्ठले जानकारी दिनुभएको छ।

के थियो घटना ?
२०७१ साल जेठ ९ गते बिद्यालयबाट फर्कदै गरेकी १६बर्षीया छात्रालाई बस्नेतसहितका तीनजनाले मोटरसाइकलमा राखी स्थानीय जङ्गलमा पुर्‍याएर सामूहिक बलात्कार गरेका थिए।

घटनामा संलग्न प्रकाश थापा सोहि बेला पक्राउ परेपनि बस्नेतसहितका दुईजना फरार थिए। सामूहिक बलात्कारमा दोषी ठहर भएपनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका बस्नेत घटना भएको ८ बर्षपछि केराबारीबाटै पक्राउ परेका हुन्।

घटनामा संलग्न अर्का एकजना अझै फरार रहेको र उनको खोजी जारी राखिएको प्रहरी निरीक्षक धमलाले जानकारी दिनुभएको छ। २०७२ चैत ३ गते जिल्ला अदालत मोरङले जनही १३बर्ष कैद सजाय र २५हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।