काठमाण्डौ/ नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आफूहरु आक्रोशको चरणमा रहेको बताउनुभएको छ। शनिबार काठमाडौंमा आयोजित नेता डा.शेखर कोइराला समूहको खबरदारीसभामा उहाँले यसो भन्नुभएको हो।

नेपाल बिद्यार्थी संघका पूर्व सभापतिसमेत रहनुभएका घिमिरेले पहिला पार्टीभित्रको आन्तरिक विवाद मिल्नुपर्नेमा जोड दिनुभयो। पार्टी सभापति शेरबहादुर देउवाले आफूहरूलाई पन्छाउन खोजेको भन्दै उहाँले त्यसले समस्या निम्त्याउने बताउनुभयो।

उहाँले कांग्रेस सभापति देउवासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘विद्रोह’ हुनसक्ने चेतावनी समेत दिनुभएको छ। आसन्न निर्वाचनका लागि बालुवाटारमा भइरहेका बैठक र दाहाल एवं नेपालले माग गरेको सिट संख्याप्रति उहाँको आक्रोश थियो।

घिमिरेले भन्नुभयो, “म हाम्रो सभापतिलाई मात्र होइन, प्रचण्डजी र माधव नेपालजीहरूलाई पनि भन्न चाहन्छु–हामी आक्रोशको चरणमा छौँ। यसपछि बिद्रोह हुनसक्छ,”, “बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा, घण्टौँ बैठक गर्दैमा मागे जति सिट पाइँदैन र पाएजति सिट जितिँदैन।”

उहाँले ती दुई दललाई कांग्रेसको मतबाट निर्वाचनमा जित हासिल गर्ने सपना नदेख्न आग्रह पनि गनुभएको छ। “कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्‍याउनुस्,” उहाँले भन्नुभयो, “कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन।”

देउवासित असन्तुष्ट समूहले पार्टी सभापतिलाई दबाब दिन खबरदारीसभा गरेको हो।